काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशन यसपटक छोटो र सरल तरिकाले सम्पन्न गरिने बताएका छन्।
पार्टीको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शनिबार आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “यो महाधिवेशनमा म एकतर्फीरूपमा सम्बोधन गर्छु। उद्घाटन मन्तव्यपछि त्यसमा छलफल गरिँदैन।”
लामो समयसम्म चल्ने कार्यक्रम सञ्चालन गर्न अहिले अवस्था अनुकूल नभएको उनले बताए। “यदि छलफल गर्दै गर्यौँ भने कार्यक्रम पाँच–सात दिन तानिन्छ, त्यो हामी धान्न सक्दैनौँ,” ओलीले भने।
अहिलेको राजनीतिक परिस्थितिमा छोटो महाधिवेशन नै उपयुक्त हुने उनको तर्क छ। उनले भने, “हालको प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापना हो। त्यो भएपछि मात्रै सहज वातावरणमा नीति निर्माण र कार्यान्वयनतर्फ ध्यान दिन सक्छौँ। अहिलेको राजनीतिक केन्द्रविन्दु यहीँ हो।”
नेतृत्व चयन र पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले अनुशासन तोडेका कारण महाधिवेशन एक वर्षअघि सारिएको स्पष्ट पार्दै ओलीले भने, “केही साथीहरूले पुनर्गठन र नेतृत्व चयनको नाममा अनावश्यक हल्ला मच्चाएका थिए, त्यसैले निर्धारित मितिभन्दा एक वर्षअघि महाधिवेशन गर्ने निर्णय गरियो।”
उनले कार्यकर्ताले पार्टीभित्र को काम गर्छ र को नगर्छ भन्ने स्पष्ट देखिसकेको पनि बताए। “काम नगर्नेहरू जान सक्छन्, काम गर्नेहरू बस्नेछन्। को अडिएको छ, को लडिएको छ, कार्यकर्ताहरूले मूल्यांकन गर्छन्,” ओलीको भनाइ छ।









