काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टीको जन्म लिएपछि जेन–जीका आवाज कति बलियोसँग यो पार्टीले उठाउँछ भन्ने प्रश्न उठेको छ । नवगठित पार्टीको नेतृत्व लाइनमा कुनै पनि जेन–जी अर्थात युवा उमेरका प्रतिनिधित्व देखिएको छैन । जेन–जीको विद्रोहले परम्परागत राजनीतिक दलहरु विस्थापित हुने चर्चा भइरहेका बेला फेरि तिनै दलहरु एकजुट भएर शक्ति आर्जनको रणनीतिमा लागेका छन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले राजनीतिक दलहरूमा ररूपान्तरण र पुस्तान्तरणको चाहना अभिव्यक्त गरेको थियो । विद्रोहले दलहरूमा चर्को दबाब सिर्जना गरेको थियो । तर, विद्रोहको रापताप सेलाउँदै जाँदा दलहरूका शीर्ष नेतृत्व रूपान्तरणलाई टार्न वैकल्पिक उपायहरू अपनाउने प्रयास गरिरहेका छन् ।
बुधबार मात्रै १० वटा वामपन्थी राजनीतिक दलहरुबीच एकता भएको छ । नेपाली कम्युनिस्ट पार्टी नाम राखेर चुनाव चिह्नसमेत तारा राखेका छन् । घोषणा सभामा यी दलका नेताहरुले अब देश हाँक्ने जिम्मेवारी आफूहरुलाई आउने दाबी गरे । त्यति मात्र होइन, आगामी चुनावमा सबैभन्दा धेरै अभिमत आफूहरुले पाउने विश्वास व्यक्त गरे । जबकी उनीहरु कोही पनि जनताका लागि आशालाग्दा अनुहार होइनन् । पटकपटक पदमा पुगेर पनि केही गर्न नसकेका असफलहरु छन् ।
जेन–जी अर्थात युवा पुस्ताले नेपाली राजनीतिमा रुपान्तरण र पुस्तान्तरण खोजेको छ । तर १० वाम दलले रुपान्तरण र पुस्तान्तरणको नाममा एकताको नाटक मञ्चन गरेर टेस्टेडहरुलाई नै नेतृत्वमा राखेका छन् । कोही पनि नेता नयाँ भिजनसहितका देखिएको छैन । नवगठित दल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल दुवै नेता पटकपटक टेस्ट भइसकेका हुन् ।
पार्टीको नेतृत्व मात्र होइन, देशकै नेतृत्व गरिरहेका छन् यी दुवै जनाले । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि आशालाग्दा अनुहार होइनन् । त्यसैगरी वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, प्रेमबहादुर सिंहदेखि महिन्द्रराय यादवसम्मलाई अघि सारेर जेन–जीले आफूलाई त्यहाँभित्र हटाउन सक्ने छैनन् ।
१० वामदलको एकता घोषणा सभामा पनि टेस्ट भइसकेका र ज्येष्ठ सदस्यहरु मात्र देखिए । चार दशकदेखि निरन्तर नेतृत्वमा रहेका ७० वर्षीय दाहाल नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजक बने । ७२ वर्षीय माधव नेपाल सहसंयोजक भए । ७५ वर्षीय झलनाथ खनाल पनि एकता समारोहमा सहभागी भए । ७७ वर्षीय वामदेव गौतमदेखि एकता प्रक्रियामा आएका अर्का नेता महिन्द्रराय यादव ७१ वर्ष र प्रेमबहादुर सिंह ७२ वर्षबाट जेन–जीले के आशा गर्ने भन्ने प्रश्न उठिरहेको छ ।
हुन त यी नेताहरुले घोषणा सभामा जेन–जीको माग पूरा गर्ने मन्तव्य दिइरहेका थिए । तर पार्टीभित्र लोकतन्त्र पुनस्र्थापनाका लागि रुपान्तरण र पुस्तान्तरणको एजेन्डा छल्नेगरी गरिएको एकता समारोहमा न अगाडि बढ्ने रोडम्याप सार्वजनिक गरियो न यसअघिका विभाजनको कारण खोज्ने यत्न नै ।
देशले परिवर्तन खोजेको छ । जनताको चाहना तीव्र परिवर्तन छ । तर अहिले नवगठित नेपाली कम्युनिस्ट पार्टीले त्यसको नेतृत्व गर्ने क्षमता राखेको देखिँदैन । किनकी अहिलेका जेन–जीहरुलाई यो पार्टीमा समेटिएका छैन । बरु कतिपय युवा भनिएकै नेताहरु विद्रोह गरेर घोषणासभामा गएनन् । जेन–जी आन्दोलनपछि नयाँ तरंग सिर्जना नहुँदा, सुरुङको अन्तिममा उज्यालो देखाउन नसक्दा समाजमा एकप्रकारको उदासीनता र शिथिलता छाउन थालेको छ ।
नेपाली कम्युनिस्ट पार्टीको घोषणासभा हेर्दा र नेतृत्वले गरेको भाषण सुन्दा लाग्छ कि जेन–जीले खनिदिएको बारीमा पुरानै विचार र नेतृत्वको बिउ रोप्न खोजिएको छ । जेन–जीको रगत र पसिनाले सिंचित बारीमा पुरानै र टेस्टेड नेताले कब्जा जमाउने प्रयास गरेपछि त्यसलाई जनताले कति स्वीकार गर्ने हुन् आगामी चुनावले निर्धारण गर्ने छ ।










