काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीक मूल कार्यनीति बनाएको समेत स्पष्ट पार्नुभयो । उहाँले निर्वाचन सम्पन्न गर्ने शर्तमा वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरुको उद्देश्य हुनुपर्ने बताउनु भयो । उहाँले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरुलाई आग्ह गर्नुभयो ।
नेता श्रेष्ठले भन्नुभयो, ‘हाम्रो अहिलेको तत्कालीक कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस भन्नेलाई बनाएका छौँ । र घोषित मितिमा निर्वाचन सम्पन्न भएन भने देशमा अझ संकट थपिने खतरा छ । अनिश्चत र अन्यौलको दिशातिर देश जाने खतरा छ । त्यसकारण निर्वाचन सम्पन्न हामीले टाइममा नै गर्नुपर्दछ । यसका निम्ति पहिलो आवश्यक्ता सरकारले त्यो दढृता गरोस । दोश्रो हामी सबै राजनीतिक पार्टीहरु त्यसका लागि एकतावद्ध भएर जाऔ । कतिपय राजनीतिक पार्टीहरु अहिले पनि अलमलमा छन् । उहाँहरुलाई हामी अपिल गर्न चाहन्छौ–घोषित मितिमा निर्वाचन सम्पन्न गर्नैपर्छ । त्यस उद्देश्यका निम्ति यो सरकारलाई सफल पार्नु आजको आवश्यक्ता हो । त्यसका निम्ति सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्दछ । निर्वाचन आयोगले पनि त्यो ढंगले तयारी गर्नुपर्दछ ।’
नेता श्रेष्ठले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराउनु भयो ।










