२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी हुँदा रु आठ लाख क्षति, एक घाइते



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा आगलागी हुँदा रु आठ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन–८ पोख्राङका बृहस्पति गौतमका दुई घर जलेर नष्ट भएको नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिनुभयो ।

मङ्गलबार राति १० बजे खोले पकाउँदै गरिएको आगो सल्किएर गौतमका घरमा भएका खाद्यान्न, लत्ताकपडा, रु १२ हजार, दुई तोला सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उपप्रमुख राईले बताउनुभयो । राति आगो नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । आगलागीबाट रु आठ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीचौकी पाँचखपनले जनाएको छ ।

आगो निभाउने क्रममा पाँचखपन –८ का टङ्कप्रसाद गौतम र छत्रबहादुर दाहाल घाइते भएको वाना प्रहरी चौकीले जनाएको छ । घाइते गौतमलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उपप्रमुख राईले जानकारी दिनुभयो । आगो निभाउने क्रममा गौतमलाई शरीरका विभिन्न भागमा पोलेको स्थानीयवासी अशोक न्यौपानेले जानकारी दिनुभयो ।