काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् ।
बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले डिल्लीबजार कारागार पठाउने पत्र जारी गरेपछि उनलाई प्रहरीको टोलीले डिल्लीबजार कारागारमा पुर्याएको हो ।
शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो । उनीमाथि बहुविवाहसम्बन्धी मुद्दामा अदालतले एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।
उक्त मुद्दा यसअघि एमाले सचिवालय बैठकमा पनि उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनको विषय उठाउँदै शेर्पालाई निलम्बन गर्नुपर्ने बताएका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले यो विषयलाई सामान्य रहेको बताउँदै निलम्बन नगर्ने अडान लिएका थिए ।
पासाङ शेर्पा यसअघि अशोक राईसँगको समूहबाट छुट्टिएर डा. बाबुराम भट्टराईको पार्टीमा पुगेका थिए । त्यसपछि माओवादी केन्द्र हुँदै पुनः एमालेमा फर्किएका थिए ।









