पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थामा ठूलो रकम हिनामिनाको आरोपमा कास्की प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, र व्यवस्थापक भीष्मप्रसाद गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
साथै, सदस्य दोरजे तामाङ, सुपरभाइज मार्केट प्रमुख बेदीप्रसाद सुवेदी सहित सात जनालाई नियन्त्रणमा लिइएको हो ।
वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको समितिले गरेको अध्ययनअनुसार सो सहकारीमा झन्डै ८९ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ ।
समितिको निष्कर्षमा सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीले मिलेमतो गरी संस्थामा सङ्कलित रकम दुरुपयोग गरेको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार कार्यसमिति, पूर्वपदाधिकारी तथा सञ्चालकहरूले व्यक्तिगत स्वार्थअनुसार रकम हिनामिना गरेको पाइएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।










