काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा लगिँदै छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले लामिछानेसँग जेनजी आन्दोलनको क्रममा उनी नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न आज (बुधबार)का लागि बोलाएको हो ।
नख्खु कारागार स्रोतका अनुसार आयोगको पत्रका आधारमा लामिछानेलाई हालै सोधपुछका लागि कारागारबाट हिँडाइएको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वगृहमन्त्री लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागार बाहिर निस्किएका थिए ।
तर, उनको बाहिरिने प्रक्रियाबारे कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकता नै शंकास्पद बनेको थियो । सो घटनापछि लामिछाने पुनः कारागार फर्किएका थिए ।
घटनाको सत्यतथ्य पत्ता लगाउन आयोगको टोलीले गत सोमबार नख्खु कारागार पुगेर स्थलगत अध्ययन गरेको थियो । त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग समेत बयान लिएको थियो ।









