काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि युवाहरूले ताला खोल्ने निर्णय गरेका हुन् ।
नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितताका माग राख्दै पार्टीका युवा समूहले दुई दिनअघि कार्यालयमा ताला लगाएका थिए ।
विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले उक्त विषयमा केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो ।
यसअघि स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ, बैठक सुरु हुनु अघि नै कार्यालयको ताला खोलिएको हो ।










