२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा चाैथाे व्यक्तिकाे मृत्यु, विश्वभर ९,००० काे ज्यान लियाे काेराेनाले



अ+ अ-

काठमाडाैंः

विश्वमै दाेस्राे बढी जनसंख्या रहेकाे अर्थात एक अर्बभन्दा बढी मानिसकाे बसाेबास रहेकाे भारतमा तुलनात्मक रूपमा प्राणघातक काेराेनाभाइरसकाे प्रभाव हालसम्म नियन्त्रणमै रहेकाे देखिएकाे छ । तर बिहीबार भारतमा अर्का एक व्यक्तिकाे मृत्यु भएकाे छ । याे समेत भारतमा हालसम्म चार जनाकाे ज्यान गएकाे छ ।

छिमेकी राष्ट्र भारतसँग नेपालीकाे बाक्लाे अावतजावत र खुला सीमा भएकाले पनि भारतमा काेराेनापीडितकाे संख्या बढ्नु र व्यक्तिकाे मृत्यु हुनु नेपालका लागि सदैब उच्चतम चासाेकाे विषय हुने गर्दछ । भारतीय अल इन्डिया रेडियाेका अनुसार भारतमा बिहीबार अपराह्नसम्म १४२ जना भारतीय र २५ जना विदेशीमा संक्रमण देखिएकाे छ । तर मृत्यु हुनेहरू सबै भारतीय छन् र भारतीय मिडियाका अनुसार यी मृत व्यक्तिहरू हालै विदेशबाट फर्किएका र ५० वर्षभन्दा बढी उमेरका छन् ।

अल इन्डियाकै खबर अनुसार १५ जनाकाे उपचार भएकाे छ र उनीहरू घर फर्किसकेका छन् ।

हवाइ सेवा एक साताका लागि बन्द

भारतले काेराेनाकाे संक्रमण राेक्न विभिन्न कदम चालिसकेकाे छ जसमा जनचेतना जगाउने, निश्चित संख्याभन्दा बढीलाइ एकै ठाउँमा भेला हुन नदिने, सार्वजनिक स्थल र सवारी साधनमा डिसइन्फेक्टेन्ट बनाउने, काेराेना प्रभावित मुलुकका व्यक्तिलाइ भिसा नदिने र उडान स्थगन गर्ने लगायतका छन् । भारतले यसबीचमा चीनकाे हुबे, इरान, इटाली समेतका मुलुकमा अलपत्र परेका भारतीय नागरिकलाइ हवाइ उद्धार गरेर क्वारेन्टाइनमा राखेकाे छ ।

यसैबीच, काेराेनाकाे संक्रमण हुन नदिन थप सख्त उपाय अवलम्बन गरेकाे छ । भारतले कोभिड१९ को संक्रमण फैलिन नदिन मार्च २२ आइतबारबाट लागु हुने गरी एक साताका लागि अन्तर्राष्ट्रीय उडानहरुको अवतरणमा रोक लगाएको छ ।

व्यवसायिक उडान गर्ने कुनै पनि स्थानबाट आउने जहाजलाई अवतरण गर्न नदिने भएपछि नेपाल र भारतबीचका पनि उडान प्रभावित हुने भएको छ। भारतको यस निर्णयपछि आइतबारबाट त्रिभुवन विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली लगायतका सहरका लागि जहाज उड्‍ने छैनन्।बिहीबार भारतीय सरकारको प्रेस इन्फरमेसन ब्युरोले जनाएअनुसार भारत सरकारले ६५ वर्षभन्दा माथि र १० वर्षभन्दा मुनि उमेरका व्यक्तिलाई घरबाहिर ननिस्किन पनि आग्रह गरेको छ। यस्तै आपतकालीन तथा अत्यावश्यक सेवामा रहेका बाहेक निजी क्षेत्रमा कार्यरतहरुलाई पनि घरबाटै काम गर्न सरकारले आग्रह गरेको छ।