काठमाडौँ । निवर्तमान सांसद तथा नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) फर्कने तयारीमा रहेको बताएका छन् ।
श्रेष्ठका अनुसार एमाले नेतृत्वसँग पार्टीमा पुनःफिर्तीबारे छलफल भइरहेको छ र यही सोमबारसम्म टुंगो लाग्ने सम्भावना छ ।
उनले माओवादी केन्द्रसँगको प्रस्तावित एकीकरणमा सहभागी नहुने स्पष्ट गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनाल र घनश्याम भूसालले अगुवाइ गरेको पुनःगठन अभियानमा पनि नबस्ने बताए ।
‘हामीले एकता प्रक्रियामा नजाने कुरा पहिल्यै बताएका छौं ,’ श्रेष्ठले भने, ‘झलनाथ–घनश्यामसँग पुनःगठन गरेर बस्दैनौं । अब बीचमै अल्झिएर बस्ने पनि होइन। हाम्रो कुरा स्पष्ट छ ।’
हाल एमालेमा फर्कन ठूलो पंक्ति तयार भइरहेको उनी बताउँछन् । यस समूहमा स्थायी कमिटी सदस्य रामकुमार िझाक्री, निवर्तमान सांसद अमरबहादुर थापा, डा. वंशिधर मिश्र, होम बुढाथोकी, पीताम्बर तिमिल्सिना, अर्जुन राईलगायत नेताहरू पनि छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समूहगत प्रवेश नगराउने संकेत दिए पनि त्यसलाई उनले ठूलो समस्या नदेखेका छन् । श्रेष्ठले भने, ‘एमाले हाम्रो आफ्नै घर हो । कम्पाउन्डबाट होस् वा गेटबाट, बाटो उनीहरूले नै खोल्छन् ।’
उनले आफूहरू पदका भोगी नभएको उल्लेख गर्दै पार्टीमा सम्मानजनक स्थान पाए पुग्ने बताए । ‘हामीलाई पद चाहिएको होइन,’ श्रेष्ठले भने, ‘मीठो बोलेर इज्जत गरे पुग्छ । क्षमता अनुसारको जिम्मेवारी दिए पुग्छ ।’
गत शुक्रबार एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा आइतबार माओवादी केन्द्र, समाजवादी र अन्य आठ दलबीच एकता सहमति भइसकेको छ । नयाँ एकीकृत पार्टीको केन्द्रीय समिति बैठक कात्तिक २० गते बस्नेछ ।










