काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १३ जना नेताको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न विभागका जिम्मेवारी पुनः निर्धारण गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख तोकिएको छ । त्यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभागका सदस्यका रूपमा जिम्मेवारी दिइएको छ । सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख बनाइएको छ ।
प्रवक्ता झाले भने, “पार्टीको कार्यसञ्चालनलाई अझ प्रभावकारी बनाउन सचिवालय बैठकले विभागीय संरचनामा आवश्यक समायोजन गरेको हो ।”
बैठकले अन्य केही विभागीय सदस्यहरूको पनि जिम्मेवारी पुनः विन्यास गरेको बताइएको छ ।










