२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरमै क्वारेन्टाइन, निगरानीमा बस्ने कार्यको प्रशंसा



अ+ अ-

भद्रपुर । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उहाँलाई प्राविधिक सहयोग पुर्याएको छ ।

भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती व्यक्ति शनिवार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै घर फर्किनुभएको थियो । उहाँले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताउनुभएको थियो ।

आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उहाँको घरमा पुगेको थियो । उहाँको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भन्नुभयो, “सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भन्नुभयो र हामीले उहाँकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उहाँलाई राख्यौँ ।”

उहाँ २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड जानुभएको थियो । उहाँलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागाईले बताउनुभयो । उहाँको स्वास्थ्य नियमित परीक्षण गरिने उहाँको भनाइ छ ।