काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूमाथि चोरी र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा उनीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र आगजनी गर्नुका साथै त्यहाँबाट विभिन्न सामग्री चोरेको आरोप लगाइएको छ ।
उनीहरूको साथबाट राष्ट्रपति कार्यालयमा प्रयोग भइरहेका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।










