२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना रोक्न चिनियाँ मोडलको तयारी, नेपाल आउन चिनियाँ डाक्टरको टीम तयार



अ+ अ-

काठमाडौं । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले विभिन्न निर्णयहरु गरिरहेको छ । सरकारले आजबाट नेपालसँग सीमा जोडिएका भारत र चीनका सबै नाकाहरु बन्द गर्ने निर्णय गरेको छ । नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय आइनतबार नै गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।
यसैबीच अर्काे एक समाचारमा सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल अपनाउने तयारी गरिएको समाचार कान्तिपुर दैनिकमा छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् । यदि नेपालमा कोरोना संक्रमणको अवस्था देखियो भने त्यसको नियन्त्रणको लागि सहयोगस्वरुप नेपाल आउन चिनियाँ चिकित्सकहरु तयारी अवस्थामा रहेको पनि बताइएको छ ।
कान्तिपुरका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।
दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् ।
नयाँ पत्रिका दैनिकले कोरोना संक्रमण फैलिए प्रभावकारी रुपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको, तर संक्रमितलाई राखेर उपचार गरिने आइसोलेसन कक्ष भने देशभर मुस्किलले एक हजार बनाउन पनि चुनौती रहेको समाचार छापेको छ ।