काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकता सम्बन्धमा छलफल भएको छ ।
भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाहरु लगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनैतिक विकासमा भारतबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोग एवम् सद्भावको सराहाना गनुभयो ।
यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान विशिष्ट परिस्थितिको बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले निर्धारित निर्वाचनको वातावरणका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग औपचारिक रुपमा वार्ता संवाद अगाडि बढाएको र बुधबारमात्रै सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनको लागि सकारात्मक रहेको जानकारी गराउनुभएको छ ।
सो अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवम् समृद्धिका लािग नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अघिवृद्धि गर्न उत्सुक रहेको तथा भारत सरकार नेपाल सरकारलाई सहयोग गर्न प्रतिवद्ध रहेको समेत जानकारी गराउनुभयो । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।
यसअघि सञ्चारमन्त्री खरेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन ले छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।










