काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच
त्रिपक्षीय छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू पनि सहभागी छन् ।
निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहेका छन् ।
त्यसैगरी, जेनजी समूहबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सअभागी छन् ।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको छ ।
सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ ।
यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।
तस्बिरः प्रदीप राज वन्त, रासस











