काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ ।
गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् । विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पनि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।
दक्षिणी युरोपलाई कोरोना भाइरसलाई सबैभन्दा धेरै क्षती पुर्याएको छ । कोरोना भाइरसको सुरुवात भएको चीनमा भन्दा मृत्यु हुनेको संख्या इटली र स्पेनमा बढी रहेको छ । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।
बुधबार फ्रान्समा पनि कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भयो । यसका साथै फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ । यहाँ कूल २५ हजार २ सय ३३ संक्रमित छन् । यीमध्ये २ हजार ८ सय २७ को स्थिती नाजुक छ ।