५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

पत्रकारको कलमदेखि कृषि कर्मसम्म

पत्रकारको कलमदेखि कृषि कर्मसम्म
अ+ अ-

सुन्दरबजार । कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ ।

अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुईकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै रहेको छ । कलम समात्ने हातले कहिले कुटो र कोदालो समातेको छ भने कहिले तरकारी बालीभित्र रहेका झार पतिङ्गर टिप्दै गरेको छ । समाचार लेख्ने दृष्टि अहिले विस्तार भएर माटो चिन्न र पढ्न थालेको छ ।

त्यसो त पत्रकारिता र गाउँको माटोबीच प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको हुन्छ समाचारका कारणले । किसानको सफलता र बजारीकरणमा पत्रकारको कलमले ठूलो काम गर्दछ । नवीनले गरेको कृषि कर्मले कलम र माटोबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएर व्यवहारमा उतारेको छ । वर्षौंदेखि उहाँ अरू किसानका सफलताको कथा लेख्ने, अरूका सपना छाप्ने, अरूका उपलब्धि प्रसारण गनुहुन्थ्यो ।

मोफसलको पत्रकारिताले मात्र जीवन धान्न कठिन हुन थाल्यो, यही क्रममा कुइकेलको मनमा एउटा प्रश्न उब्जिन थाल्यो—अरूका कथा लेख्दैछु, तर मेरो आफ्नै कथा कहाँ छ? यही प्रश्नले उहाँलाई कृषि फार्मतिर डोहोर्‍याएको थियो । २०७५ सालमा उहाँले तीन जना साथीसँग मिलेर देशमै केही गरौं भन्ने सङ्कल्पसहित चार जना युवाले व्यावसायिक कृषि कर्म शुरु गर्ने निर्णय गर्नुभयो र नाम राख्नुभयो मस्र्याङ्दी कृषि फार्म । सबैको उद्देश्य एउटै थियो—गाउँमै बसेर केही उत्पादन गर्ने, आफ्नै जग्गामा नयाँ सम्भावना खोज्ने, त्यसको व्यावसायिक रुपमा बजारीकरण गर्ने ।

स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीमा रहेको करिब १५ रोपनी जग्गामा व्यावसायिक कृषि सुरु गरिएको थियो । प्रारम्भमा सानो प्रयोग मात्र थियो यो फार्म, तर त्यही प्रयोग अहिले गाउँ मात्र नभएर पालिकाकै परिचय बनेको छ । समयको प्रवाहसँगै साथीसँगका बाटाहरू छुट्टिए । आज सबै साथीहरू आफ्ना फरक कामतिर लागेका छन् तर नविन भने अझै त्यही खेतमै कर्मकर्ममा रमाउनुभएको छ । उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, ‘‘साथीहरू गएकाले होइन, सपना बाँकी भएकाले म यहाँ छु ।’’ अहिले फार्मको सम्पूर्ण जिम्मेवारी उहाँ एक्लैले सम्हाल्नु भएको छ, र त्यो जिम्मेवारी उहाँले केवल पेशा भनेर होइन, प्रतिबद्धता लिएर काम गर्दै आउनुभएको छ ।

खेतमा अहिले लोकल कुखुरा, ब्रोइलर कुखुरा, मौसमी बेमौसमी तरकारी र फूल खेती भइरहेका छन् । बिहान फार्ममा पसेपछि उनको संसार नै बदलिन्छ । बोटबोटानी सजीव लाग्छन्, चराचुराको आवाजमा लय हुन्छ, अनि पसिनामा सन्तोष । हाल फार्ममा सात सय ब्रोइलर कुखुरा छन् । उहाँले चाँडै भैँसीपालन पनि थप्ने तयारी गरिरहनुभएको छन्, ताकि दूध, मल र अर्गानिक उत्पादन हुँदै जैविक चक्र एकसाथ सन्तुलित गर्न सकियोस् ।

उहाँको फार्म अहिले पारिवारिक श्रममा आधारित छ । घरका सबै सदस्य यसैमा सक्रिय छन् । दैनिक रूपमा खेत जोत्न, बजारमा सामान पुर्‍याउन, गोलमेल गर्न वा अन्य कामका लागि मानिसहरुले काम पाएका छन् । त्यसैगरी उत्पादन वितरण र बिक्रीमा पनि केही स्थानीय युवाहरू संलग्न छन् ।

नवीनले अहिले पनि सक्रिय पत्रकारिता गरिरहनुभएको छ । जिल्लामा भएका कार्यक्रम, समाचार संकलन लगायतका कार्यक्रममा समेत पुग्नुपर्ने हुँदा कृषिमा भने जति समय दिन नसकेको उहाँ बताउनुहुन्छ । उहाँ पत्रकार महासङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष र पूर्व केन्द्रिय सदस्य हुँदै हाल पत्रकारको न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य रहनु भएको छ ।

पत्रकारितामा लामो समय बिताइसक्नुभएका उहाँ भन्नुहुन्छ, “पत्रकारिताबाट मात्र जीवन धान्न गाह्रो छ । पत्रकारितालाई पनि जोगाउँदै, आत्मनिर्भर बन्नका लागि कृषिलाई व्यावसायिक रूपमा अँगालेको हुँ । पत्रकारिता मेरा लागि जिम्मेवारी हो, खेती मेरो आत्मा हो ।” उहाँ भन्नुहुन्छ, “म सधैँ सोच्थें— समाचारले समाज बदल्छ, अब लाग्छ, माटोले पनि बदल्छ ।”

उहाँका लागि समय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिता, संघसंस्थाको जिम्मेवारी, खेती र परिवार सबैलाई सन्तुलनमा राख्न सजिलो छैन । तर उहाँले त्यसलाई गुनासोको रूपमा होइन, अवसरको रूपमा लिनुभएको छ । “धेरैले समय चिया पसलमा गफ गर्ने, फेसबुकमा बिताउने, अनावश्यक बसाइमा बिताउँछन्, त्यही समय म खेतमा लगाउँछु,” उहाँ भन्नुहुन्छ ।

करिब रु २० लाखको लगानी भइसकेको उक्त फार्ममा हाल आठ वटा टनेलमा र खुला जमिनमा मौसमी बेमौसमी तरकारी र सयपत्री खेती गरिएको छ । बेसीँशहर–चामे सडकको नजिकै भएकाले लमजुङ र मनाङमा यसको बजार पहुँच छ । यसको अलबा पनि खुदीबजार, भुलभुले बजार, वेसीशहरलगायत स्थानीय बजारसम्म यहाँका उत्पादन सहजै विक्रीवितरण गर्न सकिन्छ ।

बाह्रै महिना फूल उत्पादन गर्ने कुईकेलको फार्ममा यतिखेर तिहारका लागि फूल बिक्री भइरहेको छ । बिहानको घाममा जब ती फूलहरू हल्लिन्छन् वरपरको वातावरण नै सुगन्धले भरिन्छ । कुईकेल भन्न्ुहुन्छ, “कृषि केवल आम्दानी होइन, सौन्दर्य पनि रहेछ । म चाहन्छु, युवा पुस्ताले गाउँको सुन्दरता र सम्भावना देखोस् ।” देशका युवाले विदेश गएर मात्र होइन, आफ्नै माटोमा पसिना बगाएर पनि सफल हुन सक्छन् भन्ने उदाहरण दिन चाहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्म त्यसैको उदाहरण हो । जहाँ युवाको आँट, श्रम र सिर्जनशीलता एकसाथ भेटिन्छ ।

यस कृषि फार्ममा अहिले जैविक प्रणाली अपनाइएको छ । रासायनिक मलको सट्टा गोबर र कम्पोष्ट मल, सिँचाइका लागि ड्रिप प्रणाली, कीरा नियन्त्रणका लागि प्राकृतिक उपायहरू अपनाइन्छ । नवीनको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, एउटा सन्देश पनि हो । युवाले परदेश नगएर पनि आफ्नो देशमा केही गर्न सक्छन् । पत्रकारिताले उहाँलाई दृष्टि दियो, कृषिले उत्पादन दियो । जब दृष्टि र कृषि एकअर्कामा मिसिन्छन् अनि सफलता त्यसैको पछिपछि लाग्छ ।