काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सानदार जित निकालेका छन् । गएराती सम्पन्न खेलमा चेल्सीले नेदरल्याण्डसको क्लब अयाक्सलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा मार्क गुइउ, मोइस काइसेडो, एन्जो फर्नानडेज, एस्तेभाओ र टिरिक जर्जले एक–एक गोल गरे । त्यस्तै अयाक्सका लागि वोउट वेगहोर्स्टले एक गोल फर्काए । खेलको १७औं मिनेटमा केनेथ टेलरले रातो कार्ड पाएपछि अयाक्स १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि चेल्सीको ३ खेलमा ६ अंक भएको छ र ११औं स्थानमा रहेको छ । त्यस्तै अयाक्स भने अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
त्यस्तै गएराती सम्पन्न खेलमा अर्को इंग्लिस क्लब लिभरपुलले जर्मनी क्लब आइन्ट्राक्ट फ्रान्कफर्टलाई ५–१ गोल अन्तरले पराजित गर्यो । लिभरपुलको जितमा हुगो एकीटिक, भिर्गिल भान डाइक, इब्राहिम कोन्टे, कोडी गाक्पो र डोमिनिक सोबोसज्लाईले एक एक गोल गरे ।
त्यस्तैगरी फ्रान्कफर्टका लागि रासमास क्रिस्टेनसेनले एक गोल फर्काए । यो जितपछि लिभरपुलको ३ खेलमा ६ अंक जोड्दै १०औं स्थानमा छ । त्यस्तै फ्रान्कफर्टको ३ खेलमा ३ अंक रहेको छ भने अंकतालिकाको २२औं स्थानमा छ ।










