आज (यमपञ्चक)तिहारको तेस्रो दिन अर्थात कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ ।
यसैबीच, नेपाली सेनाको भैरव बहान गुल्मले कुकुर तिहारको अवसरमा ‘सैनिक डग तथा कला प्रदर्शनी’ गरेको छ । सेनाका तालिम प्राप्त कुकुरहरूको पूजा गर्नुका साथै विभिन्न कला प्रस्तुत गराइएको छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।
कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरुलाई पूजा गरी मनाएका छन् । साथै नेपालीहरुले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन् ।











