२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावको तयारीका लागि आज सुरक्षा समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण बनाउन सरकारले आज सुरक्षा समितिको बैठक बोलाएको छ ।

सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित र प्रतिबद्ध रहेको सन्देश दिन खोजेको हो ।

निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरुसँग भने अहिलेसम्म औपचारिक परामर्श गरेको छैन । बरु राष्ट्रपति रामचन्द्र पौडेललाई अघि सारेर छलफल गराएको छ । राष्ट्रपति पौडेलले राजनीति दलका नेताहरुसँग दुई पटक छलफल गरिसक्नुभएको छ ।

अब सरकारले विस्तारै राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेको छ । आज सुरक्षा समितिको बैठक गरी निर्वाचन कार्यक्रम अघि बढाउने र निर्वाचन सुरक्षा रणनीतिअनुसार काम गर्ने सरकारको तयारी छ ।

गृहमन्त्री अध्यक्ष रहने सुरक्षा समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार, उक्त बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा गर्नुका साथै त्यसको समीक्षा गरी नीतिगत निर्देशन दिनेछ ।

यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाहरुसँग समन्वय गर्नेछ ।

त्यसैगरी हरेक जिल्लामा सीडीओको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति बनाई कार्यान्वयन थालिएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा ‘सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको’ उल्लेख छ ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालको भनाइ उदृत गर्दै प्रेस नोटमा उल्लेख छ, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिइन् ।

‘राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको छ’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्सको पोष्टमा लेखेकी छन्, ‘निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित थियो ।’

प्रधानमन्त्री कार्कीका अनुसार, त्यसक्रममा निर्वाचनको वातावरण तयार गर्न भइरहेको प्रयासको समीक्षा भएको थियो । त्यसक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा मिलाउन तयार रहेको बताएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

राष्ट्रपति कार्यालयको पहलमा राजनीतिक दलका नेता र युवा पुस्ता (जेन–जी)का प्रतिनिधिहरुबिचको छलफल भइरहेकोमा त्यसबाट अघि बढेर सरकारले राजनीतिक दलका नेताहरुसँग भेटघाट र संवाद शुरु गरेको छ ।

प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसकेकी छन् । यो सातादेखि अरु नेताहरुसँग पनि छलफल अघि बढाउने योजना रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

उनले एक्समा लेखेकी छन्, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलहरुसँगको संवादको शुरुवात भएको छ ।’