२४ कार्तिक २०८२, सोमबार
,
Latest
प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त हिक्मत बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ ‘जेनजी’ आन्दोलनमा गण्डकीमा पाँच अर्बको क्षति सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज



अ+ अ-

ढोरपाटन । यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।

दसैँमा खुल्नु पर्ने भए पनि लामो वर्षा हुँदा सडक थप बाढीपहिरोले अवरुद्ध भएका थिए । तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ । दसैँमा बोकेरै बजारदेखि सामान गाउँ पुर्‍याएका स्थानीयले सडक खुलेपछि गाडीमा ढुवानी गर्न थालेका छन् ।

असार दोस्रो सातादेखि बन्द भएका सडक खुलेपछि यात्रा गर्न र सामान ढुवानीमा सहज भएको निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारले बताउनुभयो । गत साउनमा पहिरोले सडक पुरिएपछि गाउँलेले पैदल हिँड्न र बोकेर सामान ल्याउन बाध्य भएका थिए । सुनारले भन्नुभयो, “यो वर्ष गाउँको बाटो ठाउँ–ठाउँमा पहिरोले पुरियो, दसैँमा खुल्नु पर्ने खुलेन, अहिले तिहार सुरु नहुँदै खुल्यो, दसैँमा त बजारबाट नुन, तेल र चामल बोकेर ल्यायौँ, तिहारमा चाहीँ गाडीलेनै ल्याउने भयो ।”

जिल्लाको सबैभन्दा विकट गाउँ नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि सञ्चालनमा आएका छन् । तमानखोला गाउँपालिकाले केही दिन अगाडि मेसिन लगाएर सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएका हुन् । नर्जा खोलामा पानीको बाहव बढी हुँदा दसैँमा सवारीसाधन चल्न नसकेको स्थानीय बिमल छन्त्यालले बताउनुभयो । अहिले खोलामा पानीको बाहव कम भएपछि गाडी चल्न थालेको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दसैँ अगावै सबै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकेकामा अहिले सबै सडक खुलाएको बताउनुभयो । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि तमान, लम्मेला हुँदै म्याग्दी जोड्ने सडक भने खुङ्खानीखोलामा पानीको बहाव नघट्दा गाडी चल्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । तर तमान लाम्मेलासम्म ढोरपाटनको खुङ्खा हुँदै सवारी साधान चल्ने अध्यक्ष बुढा मगरले बताउनुभयो ।

निसीखोला गाउँपालिकाले पनि वडा नम्बर १ देखि ७ सम्मका अधिकांश सडक खुलाएको गाउँपालिकाले जनाएको छ । केही सडक खुलाउने क्रममै रहेको हुँदा तिहारसम्म खुलाई सक्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो । रासस