काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा कैलालीको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, वडा सदस्य कल्पना खड्का, सुनकोसा सार्की, बिजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा र खरिदार पूर्णबहादुर विष्टले मिलेमतो गरी ६८३ लाभग्राहीका नाममा झुट्टा अभिलेख बनाएर करिब ७३ लाख ३७ हजार रुपैयाँ अपचलन गरेका छन् ।
अनुसन्धानमा मृत व्यक्तिको नाममा भत्ता वितरण, एउटै नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता लिने, नवीकरण नभएका लाभग्राहीका नाममा रकम निकालेको पाइएको छ ।
साथै, बुढाले ४७९ र कठरियाले २०४ औठाछाप नक्कली रूपमा प्रयोग गरेको प्रयोगशालाबाट पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो ।
0UCsV4










