३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व कराते छनोटमा नेपालका चार खेलाडी



अ+ अ-

काठमाडौँ। विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही अक्टोबर १७ देखि १९ तारिखसम्म फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिताका लागि चार खेलाडीसहित छ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन् । महिला ६८ किलोमाथि एरिका गुरुङ, ५० किलोमुनि वर्षा बुढा र ५५ किलोजीमुनि सविना श्रेष्ठले चुनौती पेस गर्नेछन् ।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष छ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औँ संस्करणका लागि छनोट हुनेछन् ।

छनोट अघि हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । बाँकी दुई खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् ।

विभिन्न १२ स्पर्धा समावेश छनोटमा पाँच सय ४९ खेलाडी सहभागी हुनेछन् । नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसकेकी छिन् । सानुमायाले महिला एकल कातामा खेल्ने छिन् ।

टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ रहेका छन् । पेरिसमा अक्टोबर १६ तारिखमा हुने प्रशिक्षक परीक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जानेछन् । उनले टोली व्यवस्थापकको भूमिका निर्वाह गर्ने बताइएको छ । टोलीका लागि सुशान्त अधिकारीले ट्र्याकसुट प्रायोजन गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।

सो अवसरमा सदस्य–सचिव घिसिङले इतिहास रच्ने सुनौलो अवसर भएकाले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गर्नुभयो ।