४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुन्छौं’: प्रशिक्षक श्रेष्ठ

‘एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुन्छौं’: प्रशिक्षक श्रेष्ठ
अ+ अ-

काठमाडौँ । नेपाली यु–१७ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन् ।
आगामी अक्टोबर १३ देखि थाइल्याण्डमा एएफसी यु–१७ महिला एशियन कपमा छनोट शुरु हुँदैछ । सोही छनोटका लागि भएको बिदाइ कार्यक्रममा प्रशिक्षक श्रेष्ठले घरेलु टोलीलाई हराउँदै एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका हुन् । समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्याण्डसँग प्रतिष्पर्धा गर्ने तालिका छ । प्रशिक्षक श्रेष्ठले टोली सन्तुलित बनेको र फरवार्डले पाएका अवसरहरू सदुपयोग गर्नसके जित निकाल्ने आशा व्यक्त गरेका छन् । साफ लगत्तै टोलीले तयारी गरेको उल्लेख गर्दै साफका कमिकजोरी सुधार गर्ने अपेक्षा गरेका छन् । उनले छनोट जतिसक्दो उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

प्रशिक्षक श्रेष्ठले डिफेन्स र गोलकिपरमा ध्यान दिएर तयारी गरेको उल्लेख गरे । छनोट हुने दबाब भएपनि दुवै टोलीसँग राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको विश्वास छ । एन्फाका महासचिव किरण राईले भनेजस्तै यो टोलीलाई डेपलभमेन्ट टोलीका रूपमा हेर्नु सुखद् लागेको प्रशिक्षक श्रेष्ठ बताउँछन् । एन्फाले तयारी गरेअनुरूप यो टोलीले लक्ष्यअनुरूप नतिजा दिने उनको विश्वास छ । सिंगल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औं संस्करणमा स्थान बनाउनेछ । गत भदौ १६ गते भूटानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली तेस्रो भएको थियो ।

च्याम्पियनसिपलगत्तै नेपाली टोली फेरि अर्को तयारीमा जुटेको थियो । नेपालका लागि थाइल्यान्ड र तुर्केमिनिस्तान तुलनात्मक रूपमा बलिया टोली हुन् । तर नेपाली महिला टोली लामो समयदेखि मैदानमा तयारीबाट छनोट हुने आत्मविश्वासमा छ । दुवै टोलीलाई हराउँदै छनोट हुने लक्ष्यमा किशोर टोली छ । यो टोली दशैंमा पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त थियो । प्रशिक्षक श्रेष्ठले डिफेन्स र मिडफिल्डमा सुधार गरिएको उल्लेख गरेका छन् । साफमा ६ वटा खेलले खेलाडीमा अनभुवी पनि पाएको र यसले गर्दा एएफसी कप क्वालिफायरमा राम्रो नतिजा ल्याउने उनको विश्वास छ ।

अहिले टोलीमा साफ खेलेका तीन खेलाडीबाहेक सबै रहेका प्रशिक्षकले उल्लेख गरे । केही खेलाडीलाई नयाँ पोजिसमा पनि तयारी गराइएको र यसका लागि उनीहरूमा आत्मविश्वास पनि बढेको प्रशिक्षक श्रेष्ठको भनाइ छ । आफ्नो टोलीमा धेरे राम्रो सुधार भएको उनको विश्वास छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली छनोट गरेका थिए । उक्त टोलीले गत असोज १२ गतेदेखि बन्द प्रशिक्षणमा रह्यो ।  मिडफिल्डर भूमिका बुढाथोकी कप्तानीमा टोली छनोट गरिएको हो । गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो । कप्तान भूमिकाले आफ्नो टोलीको मनोबल उच्च रहेको र प्रशिक्षकको योजनाअनुरूप खेलाडीले तयारी गरेको बताइन् । टिम वर्कका साथ सबै खेलाडीले खेलेको र टोलीको लक्ष्य नै छनोट हुने रहेको कप्तान भूमिकाको विश्वास छ । खेलाडीले एकअर्कालाई प्रोत्साहित गर्दै खेलेको कप्तान भूमिका बताउँछिन् ।

नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन् । प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन् । गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिइएको छ । आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानापाललाई प्रतिस्थापन गरिन् । पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको छैटौं संस्करण पनि खेलेका थिए । त्यसपछि गत डिसेम्बरमा भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए । तर, भुटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा यी दुवै अन्तिम टोलीमा अटाएनन् ।

अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले साफ सकिएपछि खेलाडीको मनोबल बुझ्दा उनीहरू आतिएको महसुस भएको बताए । विश्वकप नै जितेको टोलीले ५/६ गोल खाएको अवस्था पनि रहेको उल्लेख गर्दै महासचिवले अफ्ठ्यारो स्थितिमा पनि स्थिर मानसिकता राख्नै नै खेलाडीको उद्देश्य हुनुपर्ने बताए । फुटबल समर्थकले सदैव राम्रो नतिजा अपेक्षा गर्नु सही भएको उनको भनाइ छ । तर खेलाडीले बाहिर पक्ष ध्यान नदिई आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्ने एन्फाका महासचिव राई बताउँछन् । जित्दा मातिने र हारमा हातिन नहुने उनको भनाइ छ । सयौं खेलाडीबाट छानिकाहरू धेरै उच्च मनोबलका साथ खेल्नुपर्ने उनले औंल्याएका छन् ।
यो च्याम्पियनसिप खेलाडीहरूको विकासकै लागि आयोजना भएको र त्यसैअनुरूप आफ्नो राम्रा प्रदर्शन गर्न दिने गरी खेल्न उनको आग्रह छ । मानसिक रूपमा दबाबमा नरही निडरतापूर्वक खेल्न एन्फाका महासचिव राईले बताएका छन् ।

नेपाली यु–१७ टोलीको तीन गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका छन् । डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु बिक छन् । मिडफिल्डरमा रवीना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाल छनोट भए । फरवार्ड अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगरले स्थान बनाए । शुक्रवार आयोजित एक कार्यक्रमका बीच एन्फाका अध्यक्ष पञ्कज विक्रम नेम्बाङ र महासचिव किरण राईलगायतले नेपाली टोलीको बिदाइ गरेका थिए । टोली आजै थाइल्याण्ड प्रस्थान गरेको छ ।