काठमाडौँ । जेनजी अगुवा रक्षा बमले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा टिप्पणी गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा ‘नख्खुले तिमीलाई कुरिरहेको छ केपी ओली’ भन्दै ओलीको पछिल्लो राजनीतिक गतिविधि र विगतका निर्णयप्रति कडा आक्रोश प्रकट गरेकी हुन् ।
बमले लेखेकी छिन्, “अघिल्लो पटक संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओली साँझ वालुवाटारमा गायकहरू बोलाएर गीत सुन्दै बसेका थिए । कोभिडले थला परेको र भ्रष्टाचारले चुर्लुम्म देश डुबेको बेला उनी लासहरूमाथि नाचिरहेका थिए । र भोलिपल्टै बालुवाटारबाट बार्दलीमा हात हल्लाउँदै निस्केका थिए ।”
अहिले पनि ओली अहंकार र दम्भमा डुबिरहेको उनको आरोप छ । बम लेख्छिन्, “यसपटक बालुवाटारबाट पुच्छर लुकाएर हेलिकप्टरको हारगुहार गर्दै भाग्न बाध्य भएका केपी ओलीको लागि बार्दली पनि बाँकी रहेन । जताततै भ्रष्टाचारले आक्रान्त देशमा, सुशासन र जवाफदेहिताको खोजीमा सडकमा उत्रिएका युवामाथि गोली चलाउने प्रधानमन्त्री गुन्डुमा गुन्डाको शरणमा पुगेका छन् ।”
उनले थपेकी छिन्, “युवाहरूको रगत अझै सुकेको छैन तर पनि अनुहारमा दम्भ लिएर तिमी अझै कसरी बोल्न सकिरहेका छौ ? सँधै सँधै जनता झुक्किनेवाला छैनन्। नख्खुले तिमीलाई कुरिरहेको छ, केपी ओली ।”










