काठमाडौँ । नेकपा (एमाले) पोलिटब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाको एक–एक हिसाब राखिएको बताउँदै आफूहरुलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई संकेत गर्दै भने, “सक्ने हो भने कारबाही गरेर देखाऊ ।”
पञ्चायत र राजतन्त्रविरुद्ध लड्ने एमाले कार्यकर्ताहरू कहिल्यै छाती फर्काएर नहिँड्ने स्वभावको भएको उनले बताए । “तिमीहरूको एक–एक हिसाब हुन्छ,” उनले चेतावनीस्वरूप भने ।
यस्तै, बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको उजुरीका लागि एमालेले “डिजिटल जेनेरेसन फोर्स” गठन गर्ने जानकारी दिए । उक्त फोर्समार्फत देशभरबाट उजुरी संकलन गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने उनको भनाइ छ ।
उनले भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने भए अहिलेका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्नुपर्ने सुझाव पनि दिए ।
त्यसैगरी, बस्नेतले जेनजी आन्दोलनका क्रममा घरजलेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरका गुण्डुवासीले स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको पनि बताए । “अध्यक्षज्यू आउनुहोस्, हामी जग्गा उपलब्ध गराउँछौं,” बस्नेतले भने ।










