२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको लिची बगान जग्गा घोटालामा दुई पूर्वमन्त्रीसहित सात जनामाथि भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौँ । पोखराको लिची बगान जग्गा हिनामिना प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार दायर गरिएको उक्त मुद्दामा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नाउपा अध्यक्षसमेत रहेकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठ मुख्य प्रतिवादी छन् । आयोगले उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

‘लिची बगान’ भनेर चिनिने पोखरा–१६, बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा हडप्ने उद्देश्यले गरिएको घूस डिलको अडियो सार्वजनिक भएपछि यो प्रकरण सतहमा आएको हो । अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए भने अख्तियारले पूर्वमन्त्रीहरू, कर्मचारी र बिचौलियाहरूको बयान लिएर अनुसन्धान अघि बढाएको थियो । आयोगले पूर्वमन्त्री बलराम अधिकारीसम्बन्धी पूरक अनुसन्धान अझै जारी रहेको जनाएको छ ।

उक्त जग्गा विगतमा राणाकालीन बिर्ता रहेको छ । जसलाई विसं १९७९ मा प्रसिद्धजंग नूरप्रतापजंग राणाका सन्तान रुद्रशमशेरले आफ्नी दुई छोरी लोकदिव्यश्वरी र दुर्गादेवीका नाममा दर्ता गराएका थिए । बिर्ता उन्मूलनसँगै २०१६ मा यस्ता जग्गा रैकरमा परिणत गर्नुपर्ने व्यवस्था भए पनि सो प्रक्रिया पूरा गरिएको थिएन ।

२०३० दशकतिर उक्त जग्गा थकाली समुदायका व्यक्तिले राणासँग लिखतका आधारमा किनेर बसोबास थालेका थिए । तर २०३१ र २०४० सालका अदालती फैसलाले जग्गा दुर्गादेवी र लोकदिव्यश्वरीकै नाममा कायम हुने निर्णय गरेको थियो । पछि २०३३ मा मुस्ताङी समूहले नापीका क्रममा आफ्नो नाममा लालपुर्जा निकालेपछि जग्गा बिक्री र नामसारी हुँदै गयो ।

फैसला भएको चार दशकपछि दुर्गादेवी शाहका नातिनातिनाको नाममा पुनः हकदार खडा गरी मालपोत कार्यालयमा २४ माघ २०८० मा निवेदन बुझाइएको थियो । स्रोतका अनुसार बिचौलिया सुजन लामाले यसमा प्रमुख भूमिका खेलेका थिए । सोही दिन जग्गा दर्ता भएबापत रकम बाँडफाँड गर्ने करारनामासमेत पोखरा–१६ वडामा दर्ता गरिएको थियो ।

उक्त करारअनुसार गीतादेवी, सुरज र सुनील ठकुरीले ३३ प्रतिशत, यमकुमारी गुरुङले ४० प्रतिशत र देवबहादुर मल्लले २७ प्रतिशत भाग पाउने उल्लेख छ । करारनामा साक्षीका रूपमा बिचौलिया सुरज लामाको नाम पनि समावेश छ ।

अख्तियारले दायर गरेको मुद्दामा पूर्वमन्त्रीद्वयसहित बिचौलियाहरूले सरकारी जग्गा हिनामिना गरी आर्थिक लाभ लिएको आरोप लगाइएको छ । विशेष अदालतमा सुनुवाइ प्रक्रिया सुरु भएपछि सो प्रकरणमा थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।