२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब पालिका प्रमुखले कार्यबाहक वडाध्यक्षलाई खुट्टामा मालिस गराए



अ+ अ-

काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले कार्यकक्षमै आफ्ना खुट्टा मालिस गराइरहेको भिडियो सार्वजनिक भएपछि उनीमाथि चर्को आलोचना भएको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा अध्यक्ष चौधरी कार्यालयकै सोफामा सुतेर वडा नम्बर ५ का कार्यबाहक वडाध्यक्ष हरि खंगसँग खुट्टा दबाइरहेका देखिन्छन् । भिडियो असोज ५ गतेको हो ।

भिडियो बाहिरिएपछि अध्यक्ष चौधरीले गाउँपालिकामा तानाशाही र हुकुमी शैलीमा शासन गरिरहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यस्तै गतिविधि लोकतान्त्रिक निकायमा अस्वीकार्य भएको प्रतिक्रिया स्थानीय तहका जनप्रतिनिधिहरूबाट आएको छ ।

घटना यसरी सुरु भयो

कानुनअनुसार १० असारभित्र सम्पन्न हुनुपर्ने गाउँपालिकाको गाउँसभा पटक–पटक सारिँदै असोज ५ मा बोलाइएको थियो । सोही दिन बिहान १० बजे अध्यक्ष चौधरी कार्यालय पुगेका थिए । गाउँसभा सुरु हुनुअघि अन्य वडाध्यक्षहरूसँग नोकझोक भएपछि अध्यक्ष चौधरी रुष्ट भई सोफामा पल्टिएर ‘आज परिषद् हुँदैन’ भनेर अडान लिएका थिए ।

त्यसपछि अन्य वडाध्यक्षहरूले कार्यबाहक वडाध्यक्ष खंगलाई अध्यक्षलाई फकाउन आग्रह गरे । खंगका अनुसार, वडा नम्बर ३ का वडाध्यक्ष गोपालप्रसाद चौधरीले ‘अध्यक्षको हात दुखेको छ, जिउ दबाइदेऊ’ भन्दै जोडबल गरेपछि उनले अनिच्छा हुँदाहुँदै खुट्टा दबाएका थिए ।

‘जनप्रतिनिधि र कर्मचारीले दशैंअघि तलब भत्ता नपाउने डर थियो । त्यसैले परिषद् गर्न अध्यक्षलाई फकाउन दुई मिनेटजति खुट्टा दबाएँ,’ खंगले बताए, ‘मैले गल्ती गरेजस्तो लाग्दैन, म त अनपढ मान्छे हुँ ।’

त्यही क्रममा अन्य वडाध्यक्षहरूले भिडियो खिचेका थिए, जुन पछि सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

गाउँसभा त्यसै दिन सम्पन्न

वडाध्यक्षहरूको निरन्तर प्रयासपछि अध्यक्ष चौधरीले गाउँसभा सञ्चालन गर्न सहमति जनाए र सोही दिन गाउँसभा सम्पन्न भएको वडा नम्बर ६ का वडाध्यक्ष अशोककुमार आचार्यले बताए ।

‘त्यो घटनाका कारण नै गाउँसभा सम्भव भयो,’ उनले भने, ‘अध्यक्ष र हरिबीच काका–भतिजको सम्बन्धजस्तो व्यवहार हुन्छ, त्यसैले ठूलो विवादको विषय ठान्दिनँ ।’

उपाध्यक्ष कल्पना चौधरीले पनि भिडियो हेरेको बताउँदै भनिन्, ‘किन त्यसो गर्नुभयो, उहाँहरू दुई जनालाई थाहा होला । मैले पनि सामाजिक सञ्जालमा हेरेर थाहा पाएँ ।’

गाउँपालिकामा मिश्रित राजनीतिक परिणाम आएको छ । छ वटा वडामध्ये एमालेले अध्यक्षसहित १ र ५ वडा जितेको छ भने कांग्रेसले उपाध्यक्षसहित वडा नम्बर ३, ४ र ६ जितेको छ । वडा नम्बर २ माओवादी केन्द्रले जितेको हो ।

यसअघि पनि धनुषाको विदेह नगरपालिकाका तत्कालीन मेयर बेचन दासले कार्यालय सहयोगीबाट मालिस गराएको भिडियो सार्वजनिक भएपछि आलोचना खेपेका थिए ।