काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।
गएराति भएको खेलमा रियलले भिल्लारियलमाथि ३–१ को जित निकालेको हो । रियललाई जित दिलाउन भिनिसियस जुनियरले २ तथा किलियन एमबाप्पेले १ गोल गरे । भिल्लारियलका जर्ज मिकाटाड्जेले एक गोल फर्काए ।
४७ औं मिनेटमा भिनिसियसको गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो । ६९ औं मिनेटमा भिनिसियसले नै पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा मिकाटाड्जेले गोल फर्काउँदै भिल्लारियललाई १–२ को अवस्थामा ल्याए । ७७ औं मिनेटमा सान्टियागो मोरीनोले रातो कार्ड पाएपछि भिल्लारियल १० खेलाडीमा समेटियो ।
८१ औं मिनेटमा एम्बाप्पेले गोल थप्दै रियललाई ३–१ को जित दिलाए । जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ८ खेलबाट २१ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको एक खेल कम खेल्दै १९ अंक छ । भिल्लारियल भने ८ खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ ।










