काठमाडौं । एउटा समाचारको विषयलाई लिएर कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले राजीनामा दिएपछि सम्पादकीय स्वतन्त्रता कि मालिकको हस्तक्षेप भन्ने बहस चुलिएको छ । कान्तिपुर मिडिया ग्रुपले आफ्ना संस्थाभित्र सम्पादकीय स्वतन्त्रता रहेको दाबी गर्ने गरेको थियो । तर अहिले टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले मालिकको हस्तक्षेपकै कारण राजीनामा दिनुपरेको सार्वजनिक भएको छ । यो स्वयम् पौडेलले नै खुलासा गरेका हुन् ।
क्रिकेटर सन्दीप लामिछानेको विषयमा सार्वजनिक भएको एउटा अपुष्ट समाचारका कारण पौडेलले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । तर राजीनामा दिएको दुई दिनपछि उनले सार्वजनिक गरेको धारणाले मालिकको समेत हस्तक्षेपका कारण राजीनामा दिन बाध्य भएको देखिएको छ ।
समाचार प्रमुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पौडेल कसरी पुगे भन्न कुरा पनि छ । यूएईमा जारी वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा सन्दीप अनुपस्थित भएको विषयलाई लिएर कान्तिपुर टिभीको वेबसाइटमा एउटा समाचार प्रकाशित गरिएको थियो । उक्त समाचारमा स्रोतका हवाला दिँदै सन्दीपले नासा सेक्युरिटिजको लोगो अंकित जर्सी लगाउन नमानेपछि विवाद भएको दावी गरिएको थियो । तर, उक्त समाचारलाई सन्दीपले सामाजिक सञ्जालमार्फत तत्कालै खण्डन गरेका थिए ।
त्यसपछि पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै तीन दशक लामो पत्रकारिता यात्रामध्ये धेरै समय कान्तिपुरमै बिताएको स्मरण गरेका छन् । उनले २०६२/६३ सालको आन्दोलनदेखि हालको आन्दोलनसम्म धम्की, कुटपिट र घाइते हुने अनुभव भोगेको उल्लेख गर्दै ‘त्यो सबै मेरो र कान्तिपुर दुवैको पहिचान हो’ भनेका छन् ।
उनका अनुसार, सन्दीपबारे प्रकाशित समाचारमा रिपोर्टरले पुष्टि नगरी लेखेपछि समस्या आएको थियो । त्यसपछि समाचार उपप्रमुखले स्वीकृति दिएर समाचार वेबसाइटमा प्रकाशित भएको दाबी गरेका छन् । पछि गल्ती थाहा पाएपछि क्षमायाचना गरिएको भए पनि सम्पूर्ण प्रक्रियामा नेतृत्व जिम्मेवार मान्दै उनले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
‘काम गर्दा गल्ती हुन्छन् र त्यसलाई सच्याएर अगाडि बढ्ने हो । तर गल्ती भएपछि नेतृत्वको हिसाबले जिम्मेवारी लिनुपर्छ भन्ने मान्यताका आधारमा मैले पद छाडेको हुँ,’ पौडेलले भनेका छन् ।
उनले सम्पूर्ण समाचार शाखामाथि प्रश्न उठाइने र कान्तिपुरको आजसम्मको विश्वास धुमिल पार्ने काम भएको भन्दै दु:ख प्रकट गरेका छन् । साथै, आफू अब कान्तिपुरकर्मी नरहेको स्पष्ट पार्दै आगामी दिनमा पनि पत्रकारितामा निरन्तर लागिरहने संकेत गरेका छन् ।
पौडेलले समाचार शाखामाथि प्रश्न उठाइएको भन्दै प्रबन्ध निर्देशक सम्भव सिरोहियामाथि संकेत गरेका हुन् । कान्तिपुर स्रोतका अनुसार सम्भवले नै पौडेललाई राजीनामा गर्न दबाब दिएका थिए । त्यसपछि उनले राजीनामा दिएको बताइएको छ ।
सिरोहियाले गत आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै कान्तिपुर टीभीका पत्रकारको क्षमतामाथि प्रश्न उठाएका थिए ।
जबकी सम्पादक पौडेलले नै गलत समाचार सार्वजनिक भएको भन्दै क्षमायाचना मात्र गरेका थिएनन्, गल्ती गर्नेलाई कारबाही गर्ने घोषणासमेत गरेका थिए । तर प्रबन्ध निर्देशक सिरोहियाले सम्पादकीय स्वतन्त्रता भुलेर सामाजिक सञ्जालमार्फत् सम्पूर्ण समाचार कक्षमाथि प्रश्न उठाएका थिए ।
कान्तिपुर टेलिभिजनको वेवसाइटमा समाचारप्रति क्षमायाचना गरिएको छ ।
समाचारमा भनिएको छ–‘वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन’ शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं । आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो । हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।’
तर, कान्तिपुरका प्रवन्ध निर्देशक सिरोहिया यो क्षमायाचनाबाट मात्रै सन्तुष्ट देखिएनन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो न्यूजरुमको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका थिए । यो समाचारका विषयमा आफूले व्यक्तिगत स्तरबाट छानबिन गरिरहेको समेत उनको भनाइ छ ।
सम्भवले आफ्नो स्टाटसमा लेखेका छन्–
हिजोको कान्तिपुर टेलिभिजनको खेलकुद समाचारले सन्दीप लामिछानेको बारेमा गरेको रिपोर्टिङ दुखद र गहिरो रूपमा निराशाजनक थियो । हाम्रो संगठनको एकतर्फ, हाम्रो टिम ऐतिहासिक समयमा हुने ऐतिहासिक खेलको प्रसारण अधिकार प्राप्त गर्न दिनरात मेहनत गरिरहेको छ । यो त्यो क्षण हो जब सारा देश खेलकुदमार्फत एकजुट भएर नेपालको उत्सव मनाउँछ ।
तर टेलिभिजन समाचारतर्फ, हामीले निष्पक्षता र इमानदारीको आधारभूत मापदण्ड पनि कायम गर्न सकेनौं । पत्रकारितामा गल्तीहरू हुन्छन् र भविष्यमा पनि हुन सक्छन् । तर यसलाई गल्तीको रूपमा खारेज गर्न सकिँदैन । मैले व्यक्तिगत रूपमा यो घटनाको द्रुत छानबिन गरेको छु र
इमानदारीपूर्वक जनतासँग यी कुरा साझा गर्न चाहन्छु :
१) के सन्दीप लामिछानेको पक्षलाई सुन्ने प्रयास गरियो ? पत्रकारिताको आधारभूत सिद्धान्तअनुसार एकपक्षीय रिपोर्ट प्रसारण गर्नुअघि उनको विचार समावेश गर्ने प्रयास गरियो ? भएन ।
२) समाचार प्रसारण भएपछि, समाचार कक्षको नेतृत्वमा कुनै आलोचनात्मक मूल्यांकन गरियो ? यो ठीक देखिएन भन्ने स्पष्ट संकेत कसैले उठाए ? भएन ।
३) यदि यो गल्तीको रूपमा पहिचान भएको थियो भने, के त्यसमा सुधार गरियो ? के समयमै माफी मागियो ? भएन ।
४) यो विषयमा समाचार कक्षलाई जानकारी दिने कुनै स्रोत वा नेतृत्व हुनुपर्छ र त्यसमाथि आधारभूत स्तरको अनुसन्धान भयो ? भएन ।
सिरोहियाले अगाडि भनेका छन्– यो शुद्ध चिया गफ र हल्ला थियो जुन समाचार कक्षमा प्रवेश गर्यो र जसोतसो ‘समाचार’ बन्यो । मलाई कान्तिपुरका धेरै पत्रकारहरूप्रति गर्व छ, उनीहरूको जोश र सार्वजनिक सेवाप्रतिको समर्पणले मलाई प्रेरणा दिन्छ र म उनीहरूको ऊर्जाबाट प्रेरित हुन्छु । हामीले ती टिम सदस्यहरू र हाम्रा दर्शकहरूप्रति न्याय गर्नुपर्छ । हिजोको जस्ता गल्तीहरूलाई अनुमति दिने संरचनात्मक समस्याहरूप्रति हाम्रो शून्य सहनशीलता छ । यसमा समय लाग्नेछ, तर हामी त्यहाँ पुग्नेछौं ।
सिरोहियाको भनाइले नै कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि प्रत्यक्ष धाबा बोलेको पुष्टि हुन्छ । समाचारमा कहिले काहिँ गल्ती हुन सक्छन् । यसलाई सामान्य रुपमा लिएर तत्काल सच्याउन सकिन्छ । तर कान्तिपुरका मालिक सिरोहियाले सम्पादक पौडेल मात्र होइन, समाचार कक्षको भूमिकामाथि नै प्रश्न उठाइ दिएका छन् ।










