४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कान्तिपुर टेलिभिजन प्रकरण: सम्पादकीय स्वतन्त्रता कि हस्तक्षेप ?

कान्तिपुर टेलिभिजन प्रकरण:  सम्पादकीय स्वतन्त्रता कि हस्तक्षेप ?
अ+ अ-

काठमाडौं । एउटा समाचारको विषयलाई लिएर कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले राजीनामा दिएपछि सम्पादकीय स्वतन्त्रता कि मालिकको हस्तक्षेप भन्ने बहस चुलिएको छ । कान्तिपुर मिडिया ग्रुपले आफ्ना संस्थाभित्र सम्पादकीय स्वतन्त्रता रहेको दाबी गर्ने गरेको थियो । तर अहिले टेलिभिजनका समाचार प्रमुख विजय पौडेलले मालिकको हस्तक्षेपकै कारण राजीनामा दिनुपरेको सार्वजनिक भएको छ । यो स्वयम् पौडेलले नै खुलासा गरेका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेको विषयमा सार्वजनिक भएको एउटा अपुष्ट समाचारका कारण पौडेलले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । तर राजीनामा दिएको दुई दिनपछि उनले सार्वजनिक गरेको धारणाले मालिकको समेत हस्तक्षेपका कारण राजीनामा दिन बाध्य भएको देखिएको छ ।

समाचार प्रमुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पौडेल कसरी पुगे भन्न कुरा पनि छ । यूएईमा जारी वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा सन्दीप अनुपस्थित भएको विषयलाई लिएर कान्तिपुर टिभीको वेबसाइटमा एउटा समाचार प्रकाशित गरिएको थियो । उक्त समाचारमा स्रोतका हवाला दिँदै सन्दीपले नासा सेक्युरिटिजको लोगो अंकित जर्सी लगाउन नमानेपछि विवाद भएको दावी गरिएको थियो । तर, उक्त समाचारलाई सन्दीपले सामाजिक सञ्जालमार्फत तत्कालै खण्डन गरेका थिए ।

त्यसपछि पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै तीन दशक लामो पत्रकारिता यात्रामध्ये धेरै समय कान्तिपुरमै बिताएको स्मरण गरेका छन् । उनले २०६२/६३ सालको आन्दोलनदेखि हालको आन्दोलनसम्म धम्की, कुटपिट र घाइते हुने अनुभव भोगेको उल्लेख गर्दै ‘त्यो सबै मेरो र कान्तिपुर दुवैको पहिचान हो’ भनेका छन् ।

उनका अनुसार, सन्दीपबारे प्रकाशित समाचारमा रिपोर्टरले पुष्टि नगरी लेखेपछि समस्या आएको थियो । त्यसपछि समाचार उपप्रमुखले स्वीकृति दिएर समाचार वेबसाइटमा प्रकाशित भएको दाबी गरेका छन् । पछि गल्ती थाहा पाएपछि क्षमायाचना गरिएको भए पनि सम्पूर्ण प्रक्रियामा नेतृत्व जिम्मेवार मान्दै उनले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

‘काम गर्दा गल्ती हुन्छन् र त्यसलाई सच्याएर अगाडि बढ्ने हो । तर गल्ती भएपछि नेतृत्वको हिसाबले जिम्मेवारी लिनुपर्छ भन्ने मान्यताका आधारमा मैले पद छाडेको हुँ,’ पौडेलले भनेका छन् ।

उनले सम्पूर्ण समाचार शाखामाथि प्रश्न उठाइने र कान्तिपुरको आजसम्मको विश्वास धुमिल पार्ने काम भएको भन्दै दु:ख प्रकट गरेका छन् । साथै, आफू अब कान्तिपुरकर्मी नरहेको स्पष्ट पार्दै आगामी दिनमा पनि पत्रकारितामा निरन्तर लागिरहने संकेत गरेका छन् ।

पौडेलले समाचार शाखामाथि प्रश्न उठाइएको भन्दै प्रबन्ध निर्देशक सम्भव सिरोहियामाथि संकेत गरेका हुन् । कान्तिपुर स्रोतका अनुसार सम्भवले नै पौडेललाई राजीनामा गर्न दबाब दिएका थिए । त्यसपछि उनले राजीनामा दिएको बताइएको छ ।

सिरोहियाले गत आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै कान्तिपुर टीभीका पत्रकारको क्षमतामाथि प्रश्न उठाएका थिए ।

जबकी सम्पादक पौडेलले नै गलत समाचार सार्वजनिक भएको भन्दै क्षमायाचना मात्र गरेका थिएनन्, गल्ती गर्नेलाई कारबाही गर्ने घोषणासमेत गरेका थिए । तर प्रबन्ध निर्देशक सिरोहियाले सम्पादकीय स्वतन्त्रता भुलेर सामाजिक सञ्जालमार्फत् सम्पूर्ण समाचार कक्षमाथि प्रश्न उठाएका थिए ।

कान्तिपुर टेलिभिजनको वेवसाइटमा समाचारप्रति क्षमायाचना गरिएको छ ।

समाचारमा भनिएको छ–‘वैकल्पिक खेलाडीमा समेत सन्दीपको नाम किन राखिएन’ शीर्षकमा आइतबार कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारको स्वतन्त्र पुष्टि हुन नसकेकोमा हामी क्षमाप्रार्थी छौं । आधिकारिक स्रोतहरुबाट प्राप्त जानकारीले समाचारमा उल्लेखित विषय पुष्टि हुन नसकेको हो । हामीले लेखेको समाचारबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । साथै आगामी दिनमा थप सजगता अपनाउँदै तथ्यपरक समाचार लेख्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।’

तर, कान्तिपुरका प्रवन्ध निर्देशक सिरोहिया यो क्षमायाचनाबाट मात्रै सन्तुष्ट देखिएनन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो न्यूजरुमको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका थिए । यो समाचारका विषयमा आफूले व्यक्तिगत स्तरबाट छानबिन गरिरहेको समेत उनको भनाइ छ ।

सम्भवले आफ्नो स्टाटसमा लेखेका छन्–

हिजोको कान्तिपुर टेलिभिजनको खेलकुद समाचारले सन्दीप लामिछानेको बारेमा गरेको रिपोर्टिङ दुखद र गहिरो रूपमा निराशाजनक थियो । हाम्रो संगठनको एकतर्फ, हाम्रो टिम ऐतिहासिक समयमा हुने ऐतिहासिक खेलको प्रसारण अधिकार प्राप्त गर्न दिनरात मेहनत गरिरहेको छ । यो त्यो क्षण हो जब सारा देश खेलकुदमार्फत एकजुट भएर नेपालको उत्सव मनाउँछ ।

तर टेलिभिजन समाचारतर्फ, हामीले निष्पक्षता र इमानदारीको आधारभूत मापदण्ड पनि कायम गर्न सकेनौं । पत्रकारितामा गल्तीहरू हुन्छन् र भविष्यमा पनि हुन सक्छन् । तर यसलाई गल्तीको रूपमा खारेज गर्न सकिँदैन । मैले व्यक्तिगत रूपमा यो घटनाको द्रुत छानबिन गरेको छु र

इमानदारीपूर्वक जनतासँग यी कुरा साझा गर्न चाहन्छु :

१) के सन्दीप लामिछानेको पक्षलाई सुन्ने प्रयास गरियो ? पत्रकारिताको आधारभूत सिद्धान्तअनुसार एकपक्षीय रिपोर्ट प्रसारण गर्नुअघि उनको विचार समावेश गर्ने प्रयास गरियो ? भएन ।

२) समाचार प्रसारण भएपछि, समाचार कक्षको नेतृत्वमा कुनै आलोचनात्मक मूल्यांकन गरियो ? यो ठीक देखिएन भन्ने स्पष्ट संकेत कसैले उठाए ? भएन ।

३) यदि यो गल्तीको रूपमा पहिचान भएको थियो भने, के त्यसमा सुधार गरियो ? के समयमै माफी मागियो ? भएन ।

४) यो विषयमा समाचार कक्षलाई जानकारी दिने कुनै स्रोत वा नेतृत्व हुनुपर्छ र त्यसमाथि आधारभूत स्तरको अनुसन्धान भयो ? भएन ।

सिरोहियाले अगाडि भनेका छन्– यो शुद्ध चिया गफ र हल्ला थियो जुन समाचार कक्षमा प्रवेश गर्यो र जसोतसो ‘समाचार’ बन्यो । मलाई कान्तिपुरका धेरै पत्रकारहरूप्रति गर्व छ, उनीहरूको जोश र सार्वजनिक सेवाप्रतिको समर्पणले मलाई प्रेरणा दिन्छ र म उनीहरूको ऊर्जाबाट प्रेरित हुन्छु । हामीले ती टिम सदस्यहरू र हाम्रा दर्शकहरूप्रति न्याय गर्नुपर्छ । हिजोको जस्ता गल्तीहरूलाई अनुमति दिने संरचनात्मक समस्याहरूप्रति हाम्रो शून्य सहनशीलता छ । यसमा समय लाग्नेछ, तर हामी त्यहाँ पुग्नेछौं ।

सिरोहियाको भनाइले नै कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि प्रत्यक्ष धाबा बोलेको पुष्टि हुन्छ । समाचारमा कहिले काहिँ गल्ती हुन सक्छन् । यसलाई सामान्य रुपमा लिएर तत्काल सच्याउन सकिन्छ । तर कान्तिपुरका मालिक सिरोहियाले सम्पादक पौडेल मात्र होइन, समाचार कक्षको भूमिकामाथि नै प्रश्न उठाइ दिएका छन् ।