४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थारु समुदायमा घोर्वा पूजा



अ+ अ-

कञ्चनपुर। थारु समुदायमा दसैँ पर्वको विशेष अवसरमा घोर्वा (माटोको घोडा) पूजाको अनौठो परम्परा मनाइन्छ । यो परम्परा केवल देवी–देवताको आराधना मात्र नभई पितृ श्रद्धासँग पनि जोडिएको छ ।

किवदन्तीअनुसार द्वापर युगमा राजा दंगीशरणले घोर्वा पूजाको चलन सुरु गरेका थिए । कथाअनुसार राजा दंगीशरण आफ्नो फौजसहित शिकार खेल्न जंगल गएका बेला सुन्दर एक घोडी देखे । घोडीलाई पछ्याउँदै गर्दा दिनभरी लाग्यो र अन्ततः समातेर दरबारमा ल्याइयो । त्यो घोडी दिउँसो साधारण घोडी जस्तै देखिन्थ्यो तर राति अप्सरा रानीमा परिणत हुन्थ्यो ।

दाङ्ग–सुर्खेतविच कालिकिच(कालिमाटी) क्षेत्रम युद्धभै रहेको समयमा अप्सरा रानीको दरबारमा मृत्यु भएपछि राजा दंगीशरणले स्मरणस्वरूप आफ्ना भारदार र प्रजालाई घोर्वा(माटोको घोडा) बनाई पूजा गर्न आदेश दिएको किवदन्ती छ । त्यही समयदेखि दसैँसँगै घोर्वा पूजाको परम्परा सुरु भएको थारु बुद्धिजिवी विरबहादुर राजवंशीले बताउनुहुन्छ ।

“फुलपातीको दिन दहित थरका थारु समुदायले काँचो माटोको घोर्वा बनाएर पितृलाई आव्हान गर्छन”, उहाँले भन्नुभयो, “विभिन्न ठाउँ र चलन अनुसार माटोको घोडा  वा भेडाको प्रतीक घरको मरुवामा राखिन्छ, जहाँ माइतीतर्फका पितृ देवताको पूजा गरिन्छ, त्यस्तै, ससुराली पितृ देवताको सम्झनामा डेहुरार वा ढुरखम्बामा पुज्ने प्रचलन छ ।”

उहाँका अनुसार यसरी माइती र ससुराली दुवै पक्षका पुर्खालाई सम्झने संस्कार कायम छ । बाँकी रहेको माटो प्रयोग गरी भुँरुको घोर्वा बनाइन्छ र त्यसमा कुखुरा वा अन्य बलि दिने परम्परा रहेको छ ।

यो परम्परा विशेष गरी दहित थरका महिलाले पालन गर्ने गर्छन् । महिलाले माइतीबाट ल्याएको घोर्वा ससुराली घरमा राखेर पूजा गर्छन । यसरी दसैँमा दुर्गा भवानीको आराधनासँगै घोर्वा पूजाले थारु समुदायमा पितृ श्रद्धा, धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतिविम्ब दिएको देखिन्छ ।

आजको आधुनिक समयमा पनि कञ्चनपुर, दाङ, देउखुरीलगायतका क्षेत्रमा यो परम्परा निरन्तरता पाइरहेको छ । रासस