४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यात्रुबाट मनपरी भाडा असुली

यात्रुबाट मनपरी भाडा असुली
अ+ अ-

खोटाङ । जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको पाइएको हो ।

जिप (टाटासुमो)का लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु दुई हजार कायम गरिए पनि यातायात व्यवसायीले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेको पाइएको छ । दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि रु दुई हजार १०० निर्धारण गरिएको थियो । तर, प्रशासनमा गरिएको दुई पक्षीय सहमति कुनै पनि यातायात व्यवसायीले कार्यान्वयन नगरेको पाइएको छ ।

यतिसम्म कि बढी भाडा असुल गर्ने यातायात व्यवसायीले प्रहरी प्रशासनको कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई यात्रा गराउने गरेको पाइएको छ । चाडपर्वका अवसरमा एकतर्फी यात्रा गर्ने मात्र यात्रु हुने भन्दै सबै यातायात व्यवसायीले ‘रिजर्भ’को भाडा असुलेको यात्रुहरुले बताएका छन् ।

बढी भाडा असुल्नेमा तुवाचुङ मारतीका यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि, सगरमाथा यातायात प्रालिलगायत यातायात प्रालिमा आबद्ध यातायात व्यवसायी रहेका छन् । सगरमाथा यातायात प्रालिले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्मका लागि भनेर प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले भाडा लिए पनि दिक्तेलमा ल्याएर छाडिदिएको यात्रुहरुले बताएका छन् ।

खार्मीका लागि भनेर धरानबाट चढेको सुमोले दिक्तेलमा ल्याएर छाडेपछि पुनः प्रतिव्यक्ति रु ७०० का दरले अर्को गाडीको टिकट लिएर घर पुगेको स्थानीय ज्ञानकुमारी राईले बताउनुभयो । “हामीलाई टिकट पनि दिएन, खार्मी लैजाने भनेर दिएको फोन नम्बर पनि स्विच अफ थियो”, उहाँले भन्नुभयो, “बेलुका अबेर भइसकेको थियो, त्यो दिन जसरी पनि घर पुग्नुपर्ने थियो, प्रहरीलाई खबर गर्ने समय थिएन, त्यसैले अर्को गाडीको टिकट लिएर घर पुग्यौँ, यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रु मारमा परेका छन्, यसप्रति गम्भीर भएर सोच्न आवश्यक छ ।”

बाक्सिला–काठमाडौँ तथा काठमाडौँ–बाक्सिलाका लागि एकतर्फी जिप भाडा रु दुई हजार ८०० भए पनि आफूहरुले प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले तिरेर यात्रा गर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गर्नुभयो । यातायात व्यवसायीले आफूखुसी बढी भाडा असुलेको विषयमा प्रमाणसहित प्रहरी प्रशासनलाई खबर गर्दासमेत कुनै चासो नदिएको यात्रुले बताएका छन् ।

यातायात व्यवसायीले मनपरी भाडा असुलेको विषयमा जानकारी लिने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिनुभयो । “हामीले जिल्ला प्रवेश गर्ने ठाउँ जयरामघाट र प्रस्थान गर्ने ठाउँ दिक्तेल बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छौँ, अहिलेसम्म कसैबाट गुनासो आएको छैन”, उहाँले भन्नुभयो, “ठगीमा परेको भए प्रमाण उपलब्ध गराएको खण्डमा कारबाही गर्छौं, यद्यपि जिल्लामा सञ्चालित सबै यातायातका सवारीसाधनलाई निगरानीमा राखेका छौँ ।”

जिल्लामा सञ्चालित अधिकांश यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको समेत गुनासो आएको छ । खोटाङ यातायात प्रालिमा आबद्ध सवारी साधनले अहिलेसम्म कसैबाट बढी भाडा नलिएको र त्यस्तो गुनासो भए प्रमाण उपलब्ध गराउन दिक्तेल काउन्टरका प्रमुख अमिर अधिकारीले बताउनुभयो ।

चाडपर्वका अवसरमा यात्रुको आवागमनलाई सहज र सुरक्षित बनाउन भाडादर नियमनमा कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयले समेत निर्णय गरेको थियो । यातायात व्यवसायीले तोकिएकोभन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता क्रियाकलाप गरेको खण्डमा कानुनी कारबाही गर्ने प्रशासनले निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।