२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने



अ+ अ-

काठमाडौँ । नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्नुहुने भएको छ ।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो ।

विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिनुभयो।

उहाँका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ ।

कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो ।

कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारीघर व्यवस्थापन समितिका संयोजक शाक्यले बताउनुभयो । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । रासस