काठमाडौँ । एसिया कप क्रिकेट–२०२५ मा पाकिस्तानलाई हराउँदै विजेता बनेको भारतले अकल्पनीय रूपमा ट्रफि लिन अस्वीकार गर्यो ।
फाइनल खेल सकिएलगत्तै हुने पुरस्कार वितरण समारोह लामो समय ढिलाइ भयो । समारोहमा विजेतालाई ट्रफि र पदक प्रदान गर्ने जिम्मेवारी पाकिस्तानका गृह मन्त्री तथा पूर्व क्रिकेट बोर्ड अध्यक्ष मोहसिन नकवीलाई दिइएको थियो । भारतीय टोलीले भने नकवीबाट ट्रफि नलिने निर्णय गरेपछि सम्पूर्ण प्रक्रिया अवरुद्ध भयो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का पदाधिकारीहरूका अनुसार “भारत कुनै युद्धरत मुलुकका गृहमन्त्रीबाट ट्रफि ग्रहण गर्न तयार छैन ।” नकवीले सामाजिक सञ्जालमा भारतविरोधी संकेत भएको पोस्ट गरेको आरोप पनि भारतीय पक्षले औंल्याएको छ ।
यस कारण अन्ततः नकवी नै ट्रफि लिएर मञ्चबाट बाहिरिएका थिए भने भारतीय टोलीले मैदानमै रमाउँदै सेलिब्रेशन गर्यो । कप्तान सूर्यकुमार यादवले भने, “हामीलाई साँचो ट्रफि भनेकै हाम्रो टीम, कोच र स्टाफ हुन् । तर विजेतालाई ट्रफि नै नदिनु खेलको इतिहासमै अद्वितीय घटना हो ।”
पाकिस्तानका कप्तान सलमान अघाले भने भारतीय टोलीले खेलको सम्मान नगरेको प्रतिक्रिया दिएका छन् । उता, पाकिस्तानी पूर्व खेलाडी शोएब मलिकले भारतको यो निर्णयले भविष्यमा पछुतो दिलाउने टिप्पणी गरेका छन् ।
अब भारतीय क्रिकेट बोर्डले यस घटनाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा औपचारिक विरोध दर्ता गर्ने तयारी गरेको बताइएको छ ।










