४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देशः छ महिनामा धेरै गर्न सकिन्छ 

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देशः छ महिनामा धेरै गर्न सकिन्छ 
अ+ अ-

काठमाडौँ । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उहाँको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो । आमालाई अफिसको काम देखाएर उनी आन्दोलनमा मिसिइन् ।

आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा जब भीडमाथि आक्रमण भयो, त्यसको सिकार लिजा पनि बन्नुभयो । भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहँदा लिजालाई पछाडिबाट प्रहार गरिएको गोलीले बाँया कुम छेड्यो ।

“हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौ, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौ, हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो”, ट्रमा सेन्टरको उपचाररत लिजाले भनिन्, “हामीले माइकबाट प्रदर्शनकारीलाई बारम्बार ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहान्न आग्रह गरिरह्यौ, तर कसैले सुनेनन् ।”

लिजाका शब्दमा जब जेनजी युवाको आन्दोलन माइतिघरबाट नयाँबानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्यो, जुलुस शान्तिपूर्ण थियो । ती युवाहरुसँग न कुनै हतियार थियो, न त विशेष माग नै । उनीहरु भ्रष्टाचारविरुद्धको आफ्नो आवाजलाई सरकारलाई सुनाउन मात्रै चाहन्थे । तर जब उनीहरुको आवाजलाई दबाउन प्रहरीले हस्तक्षेप सुरु ग¥यो, तब भीड आक्रोशित भयो, तितरबितर भयो ।

“हामी नयाँ बानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाईको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो”, लिजाले घटना सम्झँदै भनिन्, “मलगायतले त्यो दाईलाई निजामती अस्पताल पठायौँ, यत्तिकैमा प्रहरीबाट अश्रुग्याँस प्रहार भयो, भीड तितरबितर भयो ।”

लिजाले डेराबाट निस्कनु अघि आमालाई म पनि आन्दोलनमा जान्छु है भनेकी थिइन् । तर आमाले आन्दोलनमा जानु पर्दैन भनेपछि अफिस जाने बाहना बनाएकी रहिछन् । “आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन, जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नुभएछ उहाँले फोन गरेर छिटो घर फर्कन भन्नुभयो, आमालाई म ठीक छु छिट्टै आउँछु भन्दै फोन राख्ने बित्तिकै मलाई गोली लाग्यो”, उहाँले भन्नुभयो ।

लिजालाई मेटलको गोली लाग्नु अघि नयाँ बानेश्वरमा केही राउण्ड हवाई फायर भइसकेको थियो । जब भीड तोडफोडमा उत्रियो, तब प्रहरीले ताकेरै गोली हान्न थाल्यो । सुरुमा प्लाष्टिकको गोली प्रहार भएको भन्ने सुनिए पनि त्यो देखिएन । लिजालाई गोली लाग्नु अघि दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो ।

“हाम्रो उद्देश्य तोडफोड र ढुङ्गामुढा गर्ने थिएन, त्यसैले अडिग भइ शान्तिपूर्ण रुपमा धर्नामा बसौँ भन्दै आह्वान गरिरहेका थियौँ, हामीलाई त गोली चल्छ भन्ने अनुमान गर्नै सकेनौँ”, उनले भनिन् ।

लिजालाई गोली लाग्दा, आसपासका मानिसहरु तितरबितर भइसकेका थिए । दायाँ हातले आफूलाई सम्हाल्दै उनी रक्ताम्य शरीर लिएर ससद् भवनको अगाडि निकै बेर उभिइरहिन् । केही समयपछि एक जनाले आएर झण्डाले हात बाँधिदिए । “दाईले साथ दिएपछि आत्मबल बढ्यो, अर्को दाईले बाइकमा एभरेष्ट अस्पताल पुर्‍याइदिनुभयो”, उनले भनिन् ।

एभरेष्ट अस्पतालमा ब्याण्डेज गरेपछि चिकित्सकले गोली लागेकाले शल्यक्रिया गर्नुपर्छ भन्दै ट्रमा अस्पताल ‘रेफर’ गरिदिए । त्यसपछि उनी एम्बुलेन्समा ट्रमा सेन्टर आइपुगिन् ।

लिजा अस्पताल आइपुग्दा आन्दोलनमा घाइते भएकाहरुले अस्पतालको भूँइ समेत भरिएको थियो । अस्पतालमा आउनासाथ घाउमा गज खादेर ब्याण्डेज गरियो । त्यतिका धेरै घाइते हुँदा पनि अस्पतालले उपचारमा राम्रो व्यवस्थापन गरेको थियो । “अस्पतालका स्वास्थ्यकर्मीहरु जसरी त्यो दिन घाइतेहरुको उपचारमा खटिनुभयो, म त्यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “त्यो गर्न उहाँहरुका लागि चूनौतीपूर्ण अवस्था थियो, त्यो दिन राति नै मेरो शल्यक्रिया भयो ।” आन्दोलनका घाइतेहरुलाई अस्पतालले खाजा, खाना र औषधिको व्यवस्था गरेको छ ।

त्यस दिन अस्पतालमा १८१ जना घाइतेलाई ल्याइएको थियो । घाइतेका लागि सुताउने शय्या थिएन । भूँइमै म्याटमाथि उपचार गर्नुपर्ने अवस्था थियो । भीड यति धेरै थियो कि, घाइतेहरु सुतिरहेकै ठाउँबाट मृतकको शरीर उचालेर लैजानुपर्ने अवस्था थियो ।

“म सुतिरहेको ठाउँमाथिबाट जब आन्दोलनकारीको शव लगियो, मलाई लाग्यो कि, मेरो पालो पनि यसरी नै त आउने होइन”, लिजाले भनिन्, “जब गोली लागेको घाउ बेस्सरी दुख्थ्यो, तब बाचिन्छ कि मरिन्छ भन्ने होस नै नहुँदो रहेछ ।” लिजाका अनुसार उनको शरीरमा अझ ठूलो शल्यक्रिया भने गर्न बाँकी नै छ । कुमको हड्डी गोलीले पूरै टुक्राएको छ, चिकित्सकले तारले बाँधिदिएका छन् ।

लिजालाई अहिले पनि ‘मुभमेन्ट’ गर्न सकस हुन्छ । अलिकति यताउता चलाउँदा पनि शरीर सहनै नसक्ने गरी दुख्छ । चिकित्सकले पहिले गरेको शल्यक्रिया निको भएपछि दोस्रो गर्नुपर्छ भनेका छन् । अहिले उनले शरीरको दुखाइ कम गर्न पेनकिलरको सहायता लिएकी छन् ।

लिजाको अस्पताल बसाइँ अझै कति लम्बिने हो भन्ने टुङ्गो छैन । तर उनी सम्मिलित आन्दोलनले ल्याएको परिवर्तन र माग पूरा हुनुपर्छ भन्नेमा लिजा दृढ छिन् । “हामीलाई सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार, बेथिती र अपारदर्शीताले हो, हामीले आन्दोलनमार्फत उठाएका माग नयाँ सरकारले पूरा गर्छ भन्नेमा विश्वास छ,”, उनले भनिन्, “निष्पक्ष अनुसन्धान गरी  दोषीमाथि कारबाही गरी मुलुकलाई सुशासनको दिशामा अघि नबढाएसम्म हामीले सडकमा दिएको बलिदानले न्याय पाउँदैन ।”

लिजा अस्पतालको शय्याबाटै नव गठित सरकारलाई आन्दोलनका दोषीमागि कारबाही गर्न दबाब दिँदै आएका छन् । लिजालगायतका घाइतेलाई भेट्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु, जेनजी आन्दोलनका प्रतिनिधिहरु आइरहनुहुन्छ ।

“हामीले अस्पतालको शय्याबाटै उहाँहरुको जिम्मेवारीलाई स्मरण गराइरहेका छौँ, छ महिनाको सरकार भए पनि केही सकारात्मक कामको सुरुआतका लागि यो पर्याप्त समय पनि हो भन्दै आएका छौँ, हाम्रो आशा र विश्वासलाई उहाँहरुले मर्न दिनुहुन्न भन्नेमा विश्वास छ”, लिजाले भन्नुभयो ।

लिजा जेनजीका  क्षमतावान र सक्षम व्यक्तिलाई सरकारमा लैजानुपर्छ भन्छिन् । भ्रष्टाचारसँग जोडिएका र पहिलेदेखि नै चर्चामा रहेका मुद्दाका फाइल खोलेर अनुसन्धानको थालनी हुनुपर्छ भन्ने उनको माग छ । लिजाका शब्दमा देशमा ‘गुड लिडर’ भए ‘गुड फ्युचर’ भन्ने पनि थाहा छ ।

मोरङ रतुवामाइ स्थायी घरभएकी लिजा बालकुमारीमा आमा र भाइसँग बस्दै आएकी छन् । जेठो सन्तानका रुपमा लिजामाथि पढ्दै कमाउँदै गर्ने जिम्मेवारी पनि छ । भाइलाई राम्रो कलेजमा उच्च शिक्षा दिलाउने सपना छ । केही समय अघि ओपन हार्ट सर्जरी गरेकी आमाको हेरचाह पनि उनकै जिम्मेवारीमा छ ।

कुसुम कलेजमा बिबिए सातौ समेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिनअघि मात्रै जेन्जी समूहमा जोडिएकी थिइन् । नारायण न्यौपाने/रासस