काठमाडौँ । बडादशैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ ।
धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दु:ख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ । शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन् ।
पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन् । त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन् ।
देवी कात्यायनीलाई चार हातका साथ सिंह वाहिनी स्वरूपमा चित्रण गरिएको छ । उनको वर्ण स्वर्ण जस्तै तेजिलो छ। दाहिने हातमा अभय र बर मुद्रा रहँदा देब्रे हातमा तरबार र कमल पुष्प सुशोभित छ । उनीलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ ।
नवरात्र साधनामा छैटौँ दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने मान्यता छ । यस दिन बेलको फेदमा बसेर जागरण गर्ने प्रचलनसमेत छ। विश्वास छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ ।
समकालीन सन्दर्भमा पनि देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ ।
काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठहरू–गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना भइरहेको छ । दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ ।










