गत भाद्र २३ र २४ गते जेनेरेशन जी (जेन जी) द्वारा गरिएको सशक्त प्रदर्शनले मुलुकको राजनैनिक इतिहासमा नयाँ र गम्भीर मोड ल्याएको छ । आन्दोलनले दशकौँदेखि जनताको अपेक्षा विपरित सत्तामा रहेका पुराना राजनैतिक दल र उनीहरुको नेतृत्वमा ठूलो धक्का दिएको छ । दुई दिनको आन्दोलनले करिब ३५ वर्षदेखि सत्ताको म्युजिकल चेयरको गेम खेलिरहेका पुराना दलका शीर्ष नेतृत्वको शासन सत्ता मात्र ढलेको छैन, पुराना शासनका सबै शासकीय संरचनाहरु खल्बलिएका छन् र नयाँ सरकार बनेको छ ।
हुनत नेपाली जनताले विगतका आम निर्वाचनहरु तथा स्थानीय तहको निर्वाचनमा पनि नयाँ तथा वैकल्पिक नेतृत्वको खोजी गरेको स्पष्ट संकेतहरु दिएका थिए । मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, बेरोजगारी र अस्थिर राजनीतिले दिक्क भएका नेपाली जनता, विशेष गरी युवाहरुले आफ्नै समयमा यी कुराहरुको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउने नेतृत्वको अपेक्षा राखेका थिए । त्यो कुरामा पुराना दल र नेतृत्व तयार नभएपछि युवाहरु आफै सडकमा उत्रिएर अहिलेको परिवर्तन ल्याएका छन् । परिवर्तनसँगै नयाँ सरकार गठन भएको छ । पूर्व प्रधानन्यायाधीस सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । मन्त्रिपरिषद्मा लोकप्रिय, योग्य र इमानदार व्यक्तिलाई पठाएर आशाको त्यान्द्रो बलियो बनाउने कामको सुरुवात भएको छ ।
आन्दोलनको उठान र मुद्दा
नेपालको जेन जी आन्दोलन विश्वमा अहिले भइरहेका युवा आन्दोलनकै पुनरावृत्ति वा अंग हो । त्यसैले यो आन्दोलन पनि विश्वभरका युवामा देखिएको युवा चेतनाको ज्वारभाटा हो । अहिले विश्वका थुप्रै मुलुकहरुमा युवा पुस्ताले लोकतन्त्र, भ्रष्टाचारको अन्त्य, पारदर्शिता, सामाजिक न्याय र जलवायु परिवर्तनका मुद्दा उठाएर आन्दोलन तथा प्रदर्शन गरिरहेका छन् । सन् २०१९/२० तिर हङकङमा भएको विद्यार्थी आन्दोलनले विश्वको ध्यान तानेको थियो । उनीहरुले सामाजिक सञ्जाल, क्रिएटिभ अभियानमार्फत सत्ताको विरोध गरेका थिए । त्यसैआसपास, सार्वजनिक यातायातको भाडा वृद्धिको विरोधबाट सुरुभएको चिलीको युवा आन्दोलन अन्तत: संविधान लेखनसम्म पुगेको थियो ।
उनीहरुले सामाजिक असमानता, शिक्षा र रोजगारीको मुद्दा लिएर आन्दोलन सुरुगरे पनि त्यस आन्दोलनले संविधान लेखन गरी उनीहरुका माग सम्बोधन गर्ने अवस्थामा पुर्याएको थियो । त्यसैगरी, बंगलादेश, श्रीलंका, फिलिपिन्स, आइसल्यान्डदेखि केही महिना अघि सुरुभएको इन्डोनेशियाका यी युवा आन्दोलनहरुले जब जनताले, विशेषगरी युवाहरुले, व्यवस्थाप्रति विश्वास गुमाउँछन्, उनीहरु विकल्प सिर्जना गर्छन् भन्ने प्रष्ट पारेका छन् । युवा पुस्ता भविष्यको कुरा मात्र गर्दैनन् वर्तमानमा अवस्था र व्यवस्था परिवर्तन गर्न सक्षम र निर्णायक हुनसक्छ भन्ने देखाउँछ । नेपाली जेन जी पुस्ताले पनि यही बाटो समातेको स्पष्ट देखिन्छ ।
के हो नेपालको जेन जी आन्दोलन
जेन जी पुस्ता डिजिटल सञ्जालमा हुर्केको, प्रविधिसँग खेलेको, राष्ट्रिय/अन्तर्राष्ट्रिय सूचना भएको र प्रवृत्ति बुझेको पुस्ता हो । स्कूलमा अध्ययनरतदेखि विश्वविद्यालयसम्मको अध्ययन पुरा गरिसकेको यो पुस्ता मुलुकको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशको प्रष्ट ज्ञान भएको पुस्ता हो । सामान्यत: आफ्नो काम तथा व्यवसायमा फोकस्ड रहने यो पुस्ता विगत केही वर्षदेखिको मुलुकको अवस्थाबाट चिन्तित थियो । कुशासन, भ्रष्टाचार, बेरोजगारी र अविकासको निरन्तर शिकार बनिरहेको यो पुस्ताले सामाजिक सञ्जालमा आफ्नो फ्रष्ट्रेसन व्यक्त गर्ने बाहेक कुनै प्रतिक्रिया दिएको थिएन । तर, अघिल्लो सरकारले आम नेपालीले प्रयोग गर्ने मुख्यमुख्य सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाउँदा यिनिहरुको सहनशीलताले हद पार गर्यो । अन्तत:, युवाहरु आफैँ संगठित र एकजुट हुन थाले । तिनै प्रतिबन्धित सामाजिक सञ्जालमार्फत नै उनीहरुले समुह बनाउने र प्रतिरोधका लागि सडकमा आउने प्रण गरे र गत सेप्टेम्बर ८ तारिकमा काठमाडौँको माइतिघरमा प्रदर्शन गर्ने योजना बनाए ।
यसरी, एकएक गरी सामाजिक सञ्जालबाट उनीहरुले सबैलाई उक्त आन्दोलनमा सहभागिता र ऐक्यबद्धताका लागि आह्वान गर्दै गए । विस्तारै, उनीहरुको पक्षमा माहोल बन्दै गयो । धेरै कलाकार, कन्टेन्ट क्रिएटर, इन्फ्लुयन्सर, सेलिब्रेटीहरुदेखि समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुले उनीहरुको यस अभियानमा ऐक्यबद्धता जनाउदै गए । जसको फलस्वरुप आन्दोलनको पहिलो दिनमै दशौँहजार जेन जीहरु सडकमा आए ।
सुरुमा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधबाट सुरुभए पनि जेन जीहरुले समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, कमिसन र घुसखोरी संस्कृतिदेखि पद, पहुँच र शक्तिको आधारमा नेता, ब्युरोक्रेटस् र बिचौलियाहरुका सन्तानले बिताइरहेको सम्भ्रान्त जीवनशैलीको विरोध गर्दै ‘नेपो बेबी’ क्याम्पियन समेत सुरुगरेका थिए । फलस्वरुप, उनीहरुको आन्दोलन सशक्त र सफल हुन पुग्यो । आन्दोलनमा अहिलेसम्म ७० जना भन्दा धेरैकोे ज्यान गइसकेको छ भने सयौँ युवाहरु घाइते भई अस्पतालमा उपचाररत छन् । आज, जेन जीहरुले आफूले रोजेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सफल भएका छन् भने आफ्ना एजेन्डा कार्यन्वयनका लागि नयाँ सरकारसँग निरन्तर पैरवी गरिरहेका छन् । प्राप्त उपलब्धिका लागि हाम्रा जेन जीहरुलाई धेरैधेरै धन्यवाद र बधाई छ ।
अबको बाटो
आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकारले राजिनामा दिएर जेन जीको माग अनुसार पूर्व प्रध्यानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा चुनाव सम्पन्न गर्नका लागि अन्तरिम सरकारको गठन भएको छ । हुनत यो सरकारको प्रमुख काम तोकिएको मिति भित्र निष्पक्ष र धाधलीरहित चुनाव सम्पन्न गर्नु रहेको छ । तर, त्यस बाहेक पनि यो सरकार र युवा पुस्ता मिलेर दीर्घकालिन परिवर्तनका लागि केही ठोस काम गर्न सकिएन भने अहिलेको आन्दोलन, त्याग र बलिदानको अर्थ रहने छैन ।
आन्दोलनले केही पुराना भौतिक संरचना भत्काएपनि पुरानो संस्कार र सिस्टम जिवित नै छ । पुरानो ब्युरोक्रेसी र उनीहरुको पुरानो सोँच जिवित छ । पुरानो सिस्टममा हालीमुहाली गर्ने विचौलिया र उनीहरुका नाइकेहरु जिवित नै छन् । त्यसैले निर्वाचन अघि नै यो पुरानो सिस्टम, संस्कार र संस्कृति भत्काउन पर्ने मुख्य जिम्मेवारी अहिलेको सरकार र युवाहरुको काँधमा रहेको छ । हामीलाई व्यवस्था होइन अवस्था बदल्नु छ । मुलुकमा रोजगारीको अवसर सृजना गरी युवाहरु विदेश पलायन हुने अवस्थाको अन्त्य गर्नु छ । भ्रष्टाचार, कुशासन र विचौलियातन्त्रको अन्त्यगरी मुलुकलाई सुशासन, विकास र सम्मृद्धिको बाटोमा अगाडि बढाउनु छ ।
यसका लागि संस्थागत विकासको ढाँचा बनाउने, नीति निर्माणमा युवाहरुको सहभागिता बढाउने, युवा लक्षित र युवामैत्री कार्यक्रमहरु बनाउने गरी सिस्टम विकास गर्न जरुरी छ । तबमात्र, निर्वाचनपछि नयाँ युगको उदय हुनेछ । नेपाल नयाँ पुस्ताको नेतृत्वको युगमा मात्र प्रवेश गर्ने छैन, भविष्यका कर्णधार र वर्तमानका निर्णायक शक्तिका हातमा पुग्नेछ । जेन जीहरुले उठाएका मुद्दाहरु भ्रष्टाचारको अन्त्य, सुशासन र जवाफदेही नेतृत्व, रोजगारी र अवसरमा सबैको पहुँचसहितको नयाँ नेपाल निर्माणको युग प्रारम्भ हुनेछ ।










