३ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच नेपाल–भारत राजनीतिक सहकार्यमा जोड



अ+ अ-

नयाँदिल्ली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नबिनसँग नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा भेटवार्ता गरेको छ। यो भेट भाजपा बारे बुझाैं कार्यक्रमअन्तर्गत सम्पन्न भएको हो।

भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूको संगठनात्मक संरचना तथा जनस्तरसम्म पहुँच विस्तार गर्ने विषयमा छलफल भएको भाजपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नितिन नवीनले दुई देशबीचको साझा सभ्यता, सांस्कृतिक सम्बन्ध र जनस्तरको निकटतालाई थप सुदृढ बनाउन यस्ता संवाद उपयोगी हुने बताएका छन्।

भाजपाले आफ्नो संगठनात्मक संरचना, सदस्यता अभियान, उम्मेदवार छनोट प्रक्रिया तथा बूथ तहसम्मको जनसंगठनबारे रास्वपा प्रतिनिधिमण्डललाई जानकारी गराएको जनाएको छ। रास्वपा टोलीले पनि राजनीतिक संगठन विस्तार र जनसहभागिता सम्बन्धी अनुभव आदानप्रदानमा चासो देखाएको बताइएको छ।

वार्ताका क्रममा युवा पुस्ता, विशेषगरी ‘जेन–जेड’ को राजनीतिमा बढ्दो भूमिका, लोकतान्त्रिक सहभागिता र भावी नेतृत्व निर्माणबारे समेत छलफल भएको विज्ञप्तिमा उल्लेख छ।

भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चाैथाइवाले, सांसद बाँसुरी स्वराज, संजय जयसवाल लगायतका नेताहरू सहभागी थिए। रास्वपा प्रतिनिधिमण्डलले भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको पनि अवलोकन गरेको जनाएको छ।

रवि लामिछाने भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ।