२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ ।

सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट बिरामी उपचारका लागि महेन्द्रनगर आउन थालेका छन् । अस्पतालका अनुसार भारतको उत्तराखण्ड र उत्तर प्रदेशका नागरिक आँखा परीक्षण तथा अन्य नेत्रसम्बन्धी उपचार सेवा लिन यहाँ आउने गरेका छन् । सस्तो र गुणस्तरीय उपचार सेवाका कारण अस्पतालमा नेपाली र भारतीय सेवाग्राहीको चाप बढिरहेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो ।

“यहाँ अत्याधुनिक मेसिनबाट आँखा जाँच हुनुका साथै शल्यक्रियासमेत हुने गरेको छ”, नेत्र अधिकृत धामीले भन्नुभयो, “उपचारका लागि नेपाली मात्र नभएर छिमेकी मुलुक भारतीय नागरिकसमेत आउने गरेका छन् ।” उहाँका अनुसार गत आर्थिक वर्षमा २४ हजार ७८० जनामा आँखासम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । जसमा एक हजार ६६७ जना भारतीय नागरिकले सेवा लिएका छन् । अस्पताले छ सय ३४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरेको गरिएको छ ।

विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७० सालमा स्तरोन्नति गरिएको थियो । त्यसपछि अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा दिन थालेपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालका अनुसार आव २०७७र७८ मा यहाँ १८ हजार ८१० जनाले उपचार सेवा लिएका छन् । आव २०७८र७९ मा २३ हजार ८२६, आव २०७९र८० मा २३ हजार २१३, आव २०८०र८१ मा २४ हजार ९५२ जनाले उपचार सेवा लिएका छन् ।

अस्पतालमा मोतियाविन्दुको समस्याका बिरामी र चश्मा लगाउने बिरामी धेरै आउने गरेको नेत्र अधिकृत धामीले बताउनुभयो । “पैतालीस वर्ष उमेर पुगेपछि धेरैलाई मोतियाविन्दुको समस्या हुने गरेको छ”, धामीले भन्नुभयो, “चोटपटक, गलत औषधि प्रयोगका कारण र कहिलेकाहीँ जन्मजातका कारण पनि मोतियाविन्दुको समस्या देखिन्छ । मोतियाविन्दु, आँखामा मासु पलाएकाजस्ता समस्याको शल्यक्रिया आधुनिक मेसिनबाटै गरिन्छ ।”

“साताको शनिबार शल्यक्रिया गर्छौँ अन्य समयमा ओपिडी सेवा सञ्चालन हुन्छ । आँखा उपचारका लागि दैनिक एक–डेढ सय जना बिरामी आउने गरेका छन्”, धामीले भन्नुभयो ।

अस्पतालले हरेक वर्ष समुदायस्तरमा शिविरमार्फत पनि सेवा दिँदै आएको छ । गत आवमा विद्यालयमा सञ्चालित छवटा शिविरबाट एक हजार ९१३  विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ६७ जना विद्यार्थीलाई समस्या देखिएकामा तीमध्ये ४७ जनालाई अस्पतालले चश्मा वितरण गरेको थियो । समुदायमा गरिएको आँखा जाँच शिविरमा एक हजार ५५० जनाले सेवा लिएका थिए । जसमा एक सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको नेत्र अधिकृत धामीले बताउनुभयो ।

अस्पतालले आँखाको समस्या न्यूनीकरणका लागि स्वयंसेवक, हेल्थ पोष्ट इन्चार्जलाई समेत तालिम दिँदै आएको छ । “आँखाको समस्या देखिएमा तुरुन्तै हाम्रो यहाँ पठाउनुहोला भनेर हेल्थ पोष्टका इन्र्चाज र स्वयसेवकलाई हरेक वर्ष तालिम दिने गरेका छौँ”, धामीले भन्नुभयो, “हाम्रो उद्देश्य सस्तो, गुणस्तरीय उपचार सेवा समयमै दिनु हो ।” शल्यक्रियाका लागि थप मेसिन भित्र्याउन सके जटिल किसिमका शल्यक्रिया यहाँ सम्भव भएको बताउनुभयो । त्यसका लागि स्थानीय तह तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । रासस