चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत पूरा भएको छ । बिहीबार दिउँसो पौने तीन बजेसम्मको तथ्यांकअनुसार सो मात्रामा पहिरो हटाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउन नारायणगढतर्फबाट दुई र मुग्लिनतर्फबाट तीन गरी पाँचवटा उपकरण प्रयोगमा ल्याइएको छ । दुवै दिशामा थप एक–एक उपकरण तयारी अवस्थामा राखिएको डिभिजनले जनाएको छ ।
काम गर्ने क्षेत्र साँघुरो भएकाले एकै पटकमा पाँचवटा उपकरणले मात्र काम गर्न सक्ने अवस्था रहेको छ । त्यसमध्ये नारायणगढतर्फ ठूलो ढुङ्गा भेटिँदा पन्छाउने कार्यमा कठिनाइ भए पनि उपकरणहरूले पूर्ण क्षमतामा काम गरिरहेका छन् ।
सडक डिभिजनका अनुसार ढुङ्गाको मात्रा बढी हुनुका साथै स–साना तिखा ढुङ्गाले टायर पन्चर हुने, अपरेटरलाई चोटपटक लाग्ने जस्ता समस्या देखिएकाले सोचेअनुसार कामको गति अघि बढ्न सकेको छैन । हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर ल्याई कामलाई निरन्तरता दिइएको छ ।
यदि थप बाधा नआएमा आज रातिसम्म पूर्ण रूपमा पहिरो पन्छाएर सडकमा सवारीसाधनको नियमित आवागमन सञ्चालनमा ल्याउने लक्ष्य रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।










