४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
अ+ अ-

काठमाडौँ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ,“कुत्सित: ऊष्मा कुष्मा–त्रिविधतापयुत: संसार:, स अण्डे मांसपेश्यामुदररुपायां यस्या: सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।”

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ ।

यसैगरी उपत्यकाबाहिर पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ ।