काठमाडौं । दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको दबाब दिन आमा पद्मा र बहिनी पुष्पा आज अमेरिका प्रस्थान गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आज एक पोस्ट सार्वजनिक गर्दै पुष्पाले आफूहरु अमेरिका प्रस्थान गरेको जानकारी दिएकी हुन् । यसअघि उनीहरु इजरायल गएका थिए ।
‘आफूहरु दाइ विपिनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन केही पहिले इजरायल गएझैँ यसपटक अमेरिका जान लागेको’ उनले लेखेकी छन् ।
विगतमा अन्तर्राष्ट्रिय मित्र र संसारभरका नेपालीबाट आफूहरुले अथाह सहयोग पाएको बताउँदै पुष्पाले दाइको सकुशल रिहाइका लागि आवाज उठाउन अपिलसमेत गरेकी छन् । आफ्नो दाइको रिहाइको विषय अन्तर्राष्ट्रिय विषय भएको हुँदा दाइको स्वतन्त्रताका लागि अन्य देशका नागरिकहरुलाईसमेत यस मुद्दामा जोडिएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाई राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले संयुक्त राष्ट्रसंघ, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायसमेतको साथ लिएर उनकी आमा र बहिनीलाई गत साउन अन्तिम साता इजरायल झिकाएको थियो ।
प्यालेस्टिनी विद्रोही लडाकु हमासले आफ्नो नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’भन्दै गत शनिबार सार्वजनिक गरेको थियो ।
दोहा मुख्यालय रहेको अलजजिरा अनलाइनका अनुसार हमासको कसाम ब्रिगेड्सले सार्वजनिक गरे पनि उनीहरुको अवस्था र विस्तृत विवरण भने खुलाइएको छैन ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुजमा आक्रमण गर्दा १२ सय मारिएका थिए भने विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइएको थियो ।










