काठमाडौँ । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद ठगुन्नाले बाढी तथा विपद्का घटनामा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसमेत जोखिममा पर्ने गरेको उल्लेख गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले दार्चुलाको चमेलिया नदी तटीय क्षेत्रका अपिहिमाल, मार्मा र लेकम गाउँपालिका तथा महाकाली नदी आसपासका क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न पनि माग गर्नुभयो ।
मनसुनका समयमा ती क्षेत्रका नागरिकले प्रत्येक वर्ष जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको भन्दै उहाँले सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी, चमेलिया नदी किनारमा रहेको गोकुलेश्वर बजारमा तत्काल पक्की तटबन्ध निर्माण गर्नुपर्ने उहाँको माग छ । गोकुलेश्वर तटबन्ध निर्माणको डीपीआरसहितको बहुवर्षीय फाइल अर्थ मन्त्रालयमा रोकिएको भन्दै उहाँले ठेक्का स्वीकृत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।







