काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट परिस्थितिको सामना गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यप्रति सकारात्मक धारणा व्यक्त गरे। उनले विपत्तिका बेला राज्यका सबै संयन्त्र र राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
लामिछानेले प्रतिकूल मौसम र अवरुद्ध सडकका बाबजुद उद्धारकर्मीले जोखिम मोलेर प्रभावित क्षेत्रमा पुगेर गरिरहेको कामको प्रशंसा गरे। उनका अनुसार पछिल्लो विपत्तिमा सरकारले गरेको हवाई उद्धारको प्रयास प्रभावकारी र व्यवस्थित देखिएको छ।
उनले भने, ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन। अहिले राज्यले भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ। यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता प्रशंसनीय छ।’
सरकारले विपत्ग्रस्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनःस्थापनाको काम अघि बढाएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा राज्यको सक्रियता आवश्यक रहेको बताए।
लामिछानेले विपत्तिका बेला समेत राजनीतिक खिचातानीमा लाग्ने प्रवृत्तिप्रति भने असन्तुष्टि जनाए। अहिले कसलाई कमजोर बनाउने भन्ने प्रतिस्पर्धाभन्दा नागरिकको जीवन जोगाउने र भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने योजना बनाउनुपर्ने उनको भनाइ थियो।
‘अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो,’ उनले भने।
उनले विपत्तिको कठिन समयमा सरकार, राज्यका संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। लामिछानेले विपत्तिपछिको पुनःस्थापना र भविष्यमा विपद्को जोखिम घटाउने पूर्वतयारीलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए







