काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको उद्धार, उपचार तथा राहतमा सरकारले गरेको कामप्रति सन्तुष्टि जनाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको समयमा सरकारको कामलाई सत्तापक्ष र प्रतिपक्षको राजनीतिक दृष्टिकोणबाट मात्रै मूल्यांकन गर्न नहुने बताउनुभयो । उहाँले विपत्ति सुरु भएलगत्तै सरकारले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम अघि बढाएको दाबी गर्नुभयो ।
लामिछानेका अनुसार प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विशेषगरी हवाई उद्धारमा सरकारले गरेको प्रयास उल्लेखनीय रहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हज्जारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’
बाढीबाट घाइते भएकाहरूको उद्धार तथा उपचारदेखि विस्थापितका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनसम्म सरकार तत्परताका साथ अघि बढेको लामिछानेले बताउनुभयो ।
यस्तो विपत्तिको समयमा सरकारको प्रतिकार्यलाई परम्परागत राजनीतिक चस्माबाट हेर्न नहुने उल्लेख गर्दै उहाँले उद्धार, राहत र उपचारका विषयमा आफूले सरकारलाई प्रश्न गर्ने अवस्था नदेखेको बताउनुभयो ।
‘घाइतेहरूका लागि उद्धार र उपचार, विस्थापितहरूका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परता देखिएको छ,’ उहाँले भन्नुभयो, ‘यस विषयमा मैले सरकारलाई प्रश्न गर्ने ठाउँ देखेको छैन ।’







