२५ श्रावण २०८३, सोमबार
,
Latest
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार पहिलेदेखि नै जलाइदिन्छु भन्दै थिए, यो योजनावद्ध काम हो: केपी ओली



अ+ अ-

भक्तपुर: पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताउनु भयो ।

अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्नुहुँदै देश नेपालीले नै बनाउनुपर्ने बताउनु भयो । सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उहाँको भनाइ छ । बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताउनु भयो । सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताउनु भयो । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताउनु भयो । अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्नुहुँदै धेरै देशहरुले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गर्नुभयो । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरु कसैले नगर्दिने उहाँको भनाइ छ ।

सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरुको लहलहैमा लाग्दाको परिणामका रुपमा लिनुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पती जलाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँको शुभकामना । दशैँ राम्रोसँग मनाउनु होला । देशको अवस्था यस्तो छ । मान्यजनको हातको टीका लगाउने, आशिर्वाद लिने हाम्रो चलन । धेरै ठूलो क्षति भएको छ, नोक्शान भएको छ, राष्ट्रलाई पीर परेको छ । चाडवाड आएको छ । यो देश हामीले सच्याउने हो, हामीले सच्याउनुपर्छ, बनाउनुपर्छ । मानिसहरुको बानी बिग्रिएको छ । सेन्टीमेण्टमा काम गरेका छन् । हाम्रो बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो हुनुपर्छ । समाज उपयोगी हुनुपर्छ । हामी सभ्य, सुसंस्कृत हुनुपर्छ । असभ्य हुनु, गैरजिम्मेवार हुनु युवापन होइन । जिम्मेवार हुनुपर्छ । असल हुन सिक्नुपर्छ । यो युवाको गुण हो । अहिले नलेज सिकाइन्छ, क्यारेक्टर सिकाइँदैन । अहिले भिसा नदिने, काम नदिने स्थिति नेपालीलाई भइसक्यो । नेपाल एउटा बद्नाम अवस्थामा पुगिसकेको छ । त्यसबाट हामीले जोगाउनु छ । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर अघि बढाउनुपर्छ । ठूलो क्षति भएको यसबाट देशलाई अघि बढाउनुपर्छ । यस प्रकारका क्षति नहुन संगठित भएर अघि बढ्नुपर्छ । तर हरेस र हिम्मत खानु हुँदैन । यो देश हाम्रो हो, हामीले बनाउने हो । अरुको लहलहैमा गएर कसले जलायो थाहा छैन । सिंहदरबार जलाइयो । देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलाएन । अरु नै घुसपैठ तत्वहरुले जलाए । जो पहिलादेखि नै भन्दै थिएः सिंहदरबार जलाइन्छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरै पल्ट त भएन त । धेरै पल्ट भइसक्यो । यो एउटा योजनावद्ध काम हो ।’

अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पयो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गर्नुभयो । —न्युज एजेन्सी नेपाल