६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र



अ+ अ-

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार चार वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म पुल निर्माण पूरा भएको छैन । पुल नबन्दा स्थानीयवासीले सास्ती भोग्नु परिरहेको छ ।

पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजार आठ सय १३ को लागतमा सम्झौता भएको थियो । सम्झौतअनुसार विसं २०७८ साउन ७ गतेभित्र पुलको निर्माण पूरा हुनुपर्ने थियो ।

यद्यपि पुल निर्माण अहिले ५० प्रतिशत मात्रै पूरा भएको धरान उपमहानगरपालिका–५ का अध्यक्ष मनप्रसाद लिम्बूले बताउनुभयो । उहाँका अनुसार दुवैतर्फका पिलरहरू उठाइए अहिले सबै झाडीले ढाकिसकेको छ । अरू संरचनात्मक काम अलपत्र अवस्थामा छन् ।

पुल नबन्दा धरान उपमहानगरपालिका–५ र ४ का साथै धरान बजारसँगको आवतजावतमा समस्या भएको छ । बर्खामा खोलामा आउने बाढी आउने भएकाले गाउँलेहरू ज्यानको जोखिम मोलेर खोला पार गर्न बाध्य छन् । “बिरामी परे अस्पताल पुर्‍याउन कठिन हुन्छ, बाँसको अस्थायी पुल बनाउने प्रयास गरे पनि बाढीले भत्काइदिन्छ”, अध्यक्ष लिम्बूले भन्नुभयो ।

स्थानीय नरबहादुर मगरका अनुसार खोला तरेर विद्यालय जानुपर्ने बालबालिका बर्खामा झन् समस्यामा पर्छन् । बाढीको बेला बालबालिका खोलाको किनारमा घण्टौसम्म बस्नुपर्छ । “गाउँमा उत्पादन भएको कृषि उपज धरान लैजानका लागि पनि समस्या छ, पुल निर्माण भए सहज हुन्थ्यो भन्ने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । कक्षा ६ देखि माथिल्लो कक्षा पढ्न खोलापारीको धरान बजार पुग्नुपर्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाका विद्यार्थीहरू दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।

पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले काम नगरेको गुनासो स्थानीयको छ । गत चैत १२ गते ठेकेदारलाई बोलाएर “जेठ मसान्तसम्म काम सक्ने गरी सहमति गरायौँ, तर अहिले त सम्पर्कमै छैन”, अध्यक्ष लिम्बूले भन्नुभयो ।

पुल निर्माणका विषयमा गत चैतमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गर्नुभएको थियो । मन्त्री राईका अनुसार काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया सुरु गरिएको थियो । तर ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएपछि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । रासस