काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन् । हाल ओलीले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफललाई प्राथमिकता दिएका हुन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेतासँग छलफल गरिसकेका छन् ।
गौतमले भने, “अध्यक्षले अहिले वान टु वान छलफल गरिरहनुभएको छ । सबैको एकमत भएपछि सचिवालय बैठक बसेर पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ ।”
पार्टी कमिटीको बैठक दसैँअघि वा पछि हुने भन्नेबारे अझै निश्चित नभएको पनि गौतमले स्पष्ट पारे ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थिति फेरिएको छ । सो आन्दोलनपछि गैरदलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ ।
संसद् विघटनलाई प्रमुख दलहरूले गैरसंवैधानिक भन्दै आलोचना गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनपछिको नयाँ अवस्थाबारे छलफल गर्न आधिकारिक बैठक बोलाइसकेका छन् भने एमालेले भने अहिलेसम्म औपचारिक बैठक डाक्न सकेको छैन ।
आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएपछि उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक सातासम्म उनी नेपाली सेनाको सुरक्षा घेरामा समेत बसेका थिए ।
आन्दोलनपछिको परिस्थितिमा एमालेभित्र पनि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनबारे चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली भने सो बहसलाई स्वीकार गर्ने पक्षमा नरहेको बताइन्छ । यस कारण ओलीले नेताहरूसँग पहिला वान टु वान छलफल गरिरहेको पार्टीभित्र बुझिएको छ ।










