४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एशिया कपमा अपराजित रहँदै भारतले आठ दिनभित्र दोस्रो पटक पाकिस्तानलाई हरायो

एशिया कपमा अपराजित रहँदै भारतले आठ दिनभित्र दोस्रो पटक पाकिस्तानलाई हरायो
अ+ अ-

काठमाडौँ । सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीले एसिया कपमा आफ्नो अपराजित यात्रालाई कायम राख्दै आठ दिनभित्रै दोस्रो पटक चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको छ ।

भारतले समूह चरणपछि सुपर–फोरमा पनि पाकिस्तानविरुद्ध खेल छ विकेटले जित्यो । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानले साहिबजादा फरहानको अर्धशतकको मद्दतले २० ओभरमा पाँच विकेट गुमाउँदै १७१ रन बनायो ।

जवाफी ब्याटिङमा अभिषेक शर्मा र शुभमन गिलले भारतलाई बलियो सुरुवात दिलाए र दुवैबीच पहिलो विकेटका लागि शतकीय साझेदारी भयो । भारतले १८.५ ओभरमा चार विकेट गुमाएर १७४ रन पुर्‍याउँदै खेल आफ्नो नाममा पार्‍यो ।

भारतसँग टिक्न सकेन पाकिस्तान

यस जितसँगै यो स्पष्ट भएको छ कि पाकिस्तानको टोली भारतअगाडि टिक्न सकेको छैन । दुवै टोलीबीच सबै प्रारूपमा भएका पछिल्ला सात खेलमा पाकिस्तानले भारतलाई एकपटक पनि हराउन सकेको छैन । भारतले एसिया कपको सुपर–फोर चरणमा पाकिस्तानलाई छ विकेटले र समूह चरणमा सात विकेटले हराएको थियो ।

यसअघि च्याम्पियन्स ट्रफीमा पनि भारतले पाकिस्तानलाई छ विकेटले पराजित गरेको थियो, जबकि गत वर्षको टी–२० विश्वकपमा भारतले प्रतिद्वन्द्वी टोलीलाई छ रनले हराएको थियो । वानडे विश्वकप २०२३ मा पनि पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

यसअघि एसिया कप २०२३ मा भारतले २२८ रनको विशाल अन्तरले जित हासिल गरेको थियो। त्यति मात्र होइन, टी–२० विश्वकप २०२२ मा जब भारत र पाकिस्तान आमनेसामने थिए, भारतले चार विकेटले खेल जित्न सफल भएको थियो ।

गिल–अभिषेकको शतकीय साझेदारी

भारतका लागि अभिषेकले शानदार ब्याटिङ गर्दै ३९ बलमा छ चौका र पाँच छक्काको मद्दतले ७४ रन बनाए । उनले गिलसँग पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरे, जुन वर्तमान प्रतियोगितामा कुनै पनि टोलीको कुनै पनि विकेटका लागि पहिलो १००ं साझेदारी हो ।

पाकिस्तानविरुद्ध लक्ष्य पछ्याउँदा अभिषेक र गिलले भारतलाई तीव्र सुरुवात दिलाए । भारतले पावरप्लेमा कुनै विकेट नगुमाई ६९ रन जोडेको थियो । यस खेलमा रन बनाउन संघर्ष गरिरहेका शुभमन गिल पनि लयमा देखिए । गिल र अभिषेकको साझेदारीलाई फहीम अशरफले तोडे, जसले गिललाई बोल्ड गरे । गिल अर्धशतकबाट चुक्दै २८ बलमा आठ चौकाको मद्दतले ४७ रनमा आउट भए ।

तिलकले प्रहार गरे विजयी चौका

गिल आउट भएपछि भारतीय कप्तान सूर्यकुमार यादव खाता नखोली नै आउट भए । केही समयपछि अबरार अहमदले अभिषेक शर्मालाई आउट गर्दै भारतलाई तेस्रो झट्का दिए । त्यसपछि तिलक वर्मा र संजू सामसनले पारी अघि बढाए र स्कोर १५० पार गराए ।

हारिस रउफले सामसनलाई आउट गर्दै भारतलाई चौथो झट्का दिए । पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका सामसन १७ बलमा एक चौका प्रहार गर्दै १३ रनमा आउट भए । त्यसपछि तिलक र हार्दिक पाण्ड्याले पाकिस्तानलाई थप सफलता हात पार्न दिएनन् र तिलकले विजयी चौका प्रहार गरे । तिलक १९ बलमा दुई चौका र दुई छक्कासहित ३० रनमा अविजित रहे, हार्दिक सात बलमा एक चौकासहित सात रनमा नटआउट रहे ।

भारतको कमजोर फिल्डिङ

एसिया कपको सुपर–फोर चरणको खेलमा भारतीय टोलीले पाकिस्तानविरुद्ध फिल्डिङमा कमजोर प्रदर्शन गर्‍यो । जहाँ भारतले यसअघि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो, त्यहाँ यस खेलमा फिल्डिङमा निराश पार्‍यो ।

पाकिस्तानका ब्याटर, विशेषत: ओपनर साहिबजादा फरहानले यस अवसरको पूरा फाइदा उठाउँदै अर्धशतक प्रहार गरे । भारतले यस खेलमा चारवटा क्याच छोड्यो । पहिलो क्याच पारीको पहिलो ओभरमै छुट्यो, जब अभिषेक शर्माले हार्दिक पाण्ड्याको बलमा फरहानको सजिलो क्याच टप्काए ।

त्यसबेला फरहानले खाता पनि खोलेका थिएनन् । दोस्रो मौका पाँचौँ ओभरको चौथो बलमा आयो, जब कुलदीप यादवको बलमा फरहान १६ रनमा थिए र क्याच हातमा पर्छ जस्तो देखिए पनि समाउन सकेनन् । तेस्रो जीवनदान पनि अभिषेकले दिए, जसले आठौँ ओभरको तेस्रो बलमा फरहानको क्याच छोडे । त्यतिबेला फरहान ३९ रनमा थिए ।

फरहानले यी अवसरको पूरा फाइदा उठाउँदै ३४ बलमा अर्धशतक पुर्‍याए र ब्याटलाई हावामा उचाल्दै बन्दुकको इशारा गरे । चौथो क्याच १९औँ ओभरको पाँचौँ बलमा छुट्यो, जब शुभमन गिलले फहीम अशरफको क्याच छोडे । यी चार अवसरहरूले पाकिस्तानलाई चुनौतीपूर्ण स्कोर बनाउन सहयोग पुर्‍यायो ।

कमब्याकमा चम्कन सकेनन् बुमराह

भारतीय टोलीका अनुभवी तेज बलर जसप्रीत बुमराह पाकिस्तानविरुद्ध महँगो साबित भए । बुमराहले तीन ओभरमै ३४ रन खर्चिए । एसिया कपको सुपर–फोर खेलका लागि उनलाई प्लेइङ–११ मा फर्काइयो, तर उनले निराशजनक प्रदर्शन गरे । चार ओभरको स्पेलमा उनले ४५ रन खर्चिए र एक पनि विकेट लिन सकेनन् ।

उनको इकोनोमी ११.२० रह्यो । पाकिस्तानका लागि साहिबजादा फरहानले ४५ बलमा पाँच चौका र तीन छक्कासहित ५८ रन बनाए, जबकि साम अय्यूबले २१, मोहम्मद नवाजले २१, फखर जमनले १५ र हुसेन तलतले १० रन बनाए । त्यस्तै, फहीम अशरफ २० र कप्तान सलमान आगा १७ रनमा अविजित रहे । भारततर्फ शिवम दुबेले दुई विकेट लिए, हार्दिक पाण्ड्या र कुलदीप यादवले एक–एक विकेट हात पारे ।